कोरोनाबाट पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको मृत्यु

नवयुग संवाददाता
२०७८, १३ जेष्ठ बिहीबार १२:११

Advertisement

कास्की । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट काठमाडौंको निदान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । २० दिनअघि कोरोना संक्रमणबाट अस्पताल भर्ना भएको उनका काका ईश्वर कर्माचार्यले जानकारी दिए । परिवारका अन्य सदस्यसहित उनलाई पनि कोरोना देखिएको थियो । परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आइसकेको परिवार स्रोतले जनाएको छ ।

Advertisement

‘कोरोना पोजेटिभ देखिएर धेरै ज्वरो आएपछि ३ दिनदेखि भेन्टिलेटर राखेर उपचार भइरहेको थियो,’ काका ईश्वरले भने, ‘आज बिहान उपचारकै क्रममा निधन भयो । ’ रमेश ०६९ देखि ७१ सम्म पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष थिए । उनी हिमचुली विकास बैंकको अध्यक्ष पनि थिए भने लुम्बिनी विकास बैंकको सञ्चालक थिए ।

Advertisement

उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीव कोइरालाले पोखराकै पुराना कपडा व्यवसायीमध्येका कर्माचार्य पोखराको बैंकिङ क्षेत्रमा पनि अगुवा भएको बताए । ‘पोखरा उद्योग वाणिज्य संघको स्थापनादेखि संस्थागत विकासका लागि उहाँको परिवारकै योगदान छ,’ कोइरालाले भने, ‘उहाँको निधनले पोखराले नै क्षति बेहोरेको छ ।’

Advertisement

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखेले आफूले एक असल दामली र पोखराले व्यावसायिक हितमा लागेको अगुवा गुमाएको बताए । ‘हामी विद्यालय सँगै पढेका थियौं । उहाँको बाउबाजेकै पालादेखि पोखराको विकासमा योगदान छ,’ पालिखेले भने, ‘उहाँको निधनले विक्षिप्त छु ।’ उनको बाउबाजे ‘श्याम साहु’का नामले पोखराकै चर्चित थिए । कर्माचार्यको पोखरामा पुरानो कपडा व्यवसाय थियो ।

‘पोखरो औद्योगिक, शैक्षिक, बैंकिङ लगायतका क्षेत्रमा उहाँको योगदान थियो,’ पालिखेले भने, ‘पोखराको उद्योग वाणिज्य संघको स्थापनाकालदेखि नै उहाँको परिवारले विशेष योगदान पुर्‍याएको हो ।’ रमेशका बाजे कृष्णप्रसाद कर्माचार्य पनि पोखरा उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष थिए ।

रमेशको व्यावसयिक प्रतिष्ठानले पोखराको उत्कृष्ठ व्यवसायीको पुरस्कार पनि पाएको थियो । लायन्स क्लब अफ लेक सिटीका पूर्व अध्यक्षसमेत रहेका रमेशका श्रीमती र दुई छोरा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*