कोरोना संक्रमणबाट जनरल फिजिसियन डा. पशुपति रजौरियाको निधन

नवयुग संवाददाता
२० जेष्ठ २०७८, बिहीबार १३:२४

Advertisement

रुपन्देही । भैरहवामा सञ्चालित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा कार्यरत एक चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मेडिकल कलेजका प्रशासकीय प्रमुख कमल ढकालका अनुसार अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. पशुपति रजौरियाको कोरोना संक्रमणपछि मृत्यु भएको हो।

Advertisement

ढकालले केही दिन अगाडि डा. रजौरियाको कोरोना रिपोर्ट नेगेटिभ आए पनि (पोष्ट कोभिडका कारण) बुधबार राति मृत्यु भएको बताए । डा. रजौरियालाई कोरोना संक्रमण पुष्टि भएपछि भैरहवा मेडिकल कलेजमै उपचार गरिएको र कोरोना रिपोर्ट नेगेटिभ आए पनि अरू स्वास्थ्य समस्या देखिएपछि काठमाडौं पठाईएको ढकालले जानकारी दिए। उनको काठमाडौको ग्राण्डी अस्पतालमा उनको उपचारको क्रममा बुधबार राती मृत्यु भएको जानकारी दिए।

Advertisement

यसअघि देवदह मेडिकल कलेजमा कार्यरत ३५ वर्षिय डा. रजौरियाले गत चैत महिनादेखि मात्रै भैरहवा मेडिकल कलेजमा काम शुरू गरेका थिए । कोरोना महामारिको दोस्रो लहरसँगै मेडिकल कलेजमा भर्ना भएका कोरोना संक्रमितको उपचारमा समेत सक्रिय रुपमा काम गरेका डा. रजौरियाको निधनले महामारीको समयमा मेडिकल कलेजलाई मात्र नभई मुलुकलाई नै ठूलो क्षती भएको अस्पतालले जनाएको छ ।

Advertisement

मेडिकल कलेजमा हालसम्म चिकित्सक र स्वास्थ्यकर्मी गरि करीब २ सय जतिलाई कोरोना संक्रमण पुष्टि भए पनि रजौरियाको मृत्यु पहिलो भएको अस्पतालले दाबी गरेको छ।

डा. रजौरियासँगै उनकी श्रीमतीसमेत संक्रमित भए पनि श्रीमती संक्रमणमुक्त भईसकेकी छन्। केही महिना पहिले मात्र वैवाहिक सम्बन्धमा बाधिएका रजौरियासँगै उनकी श्रीमती पनि मेडिकल कलेजमा प्रसूती तथा स्त्री रोग विशषज्ञको रूपमा कार्यरत छन्।

ढकालले अस्पतालमा काम गर्न शुरू गरेको छोटो समयमै बिरामीको उपचारका लागि राम्रो पहिचान बनाएका डा. रजौरियाको निधनले अस्पताल परिवार स्तब्ध बनेको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*