कोभिडलाई प्राथमिकतामा राखेर बागमती प्रदेशको बजेट

नवयुग संवाददाता
२४ जेष्ठ २०७८, सोमबार १२:३५

Advertisement

मकवानपुर । बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश सरकारद्वारा आगामी आव २०७८/७९ का लागि प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटमा प्रदेशका १३ वटै जिल्लाका कोभिड–१९ सङ्क्रमणका बिरामीको उपचार सेवा र नियन्त्रणलाई अवलम्बन गर्ने नीति उच्च प्राथमिकतामा राखेर सरकार अघि बढ्ने दृढता व्यक्त गरेका छन्।

Advertisement

उनले यही जेठ २६ वा २७ गतेभित्र प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटको प्राथमिकतामा कोभिडबाट पीडित भई पीडा भोगेका परिवारलाई सरकारले उत्पादनतर्फ जोडेर आयआर्जनका लागि आर्थिक प्याकेज कार्यक्रम ल्याउन लागिएको बताए। ढुङ्गेलले काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न, अस्पतालको गुणस्तरीय वृद्धिका साथै एचडियु, भेन्टिलेटर र आइसियु कक्षको स्थापना गरी उपचार सेवालाई सहजीकरण गर्न सरकारले छुट्टै कार्यदल पनि गठन गर्ने जानकारी दिए।

Advertisement

मन्त्री ढुङ्गेलले प्रदेश सरकारले अघिल्लो वर्ष जस्तै यस वर्षको नीति, कार्यक्रम र बजेटमा राष्ट्रिय गौरवका आयोजनाको निर्माणका साथै शिक्षाको गुणस्तर वृद्धि र दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षातर्फ जोड दिइने बताए। उनले आगामी आवका लागि प्रस्तुत हुने बजेटले प्रदेशमा कृषि उत्पादनका साथै पशुपालनतर्फ गाई, भैँसीपालनका अतिरिक्त, खसी, बोका, कुखुरा, बङ्गुरपालनलाई उच्च प्राथमिकता दिई शहरी क्षेत्रका उपभोक्तालाई दूधजन्य पदार्थ र मासुमा आत्मनिर्भर तुल्याउने कार्यलाई जोड दिइने बताए।

Advertisement

प्रदेशका सबै जिल्लाका कोभिड–१९ सङ्क्रमितका परिवारलाई तत्काल आयआर्जन गर्ने आर्थिक प्याकेजलाई विपन्न र दलित समुदायका परिवारलाई केन्द्रविन्दुमा राखेर राहत वितरण गर्ने लक्ष्य राखिएको पनि र्उनको भनाइ छ।

प्रदेश सरकारले आगामी आवका लागि ल्याइने नीति, कार्यक्रम र बजेटमा प्रतिपक्षले उठाउनुभएको कोभिड–१९ सङ्क्रमण नियन्त्रण गर्ने प्रयास, राष्ट्रिय गौरवका आयोजना र भौतिक पूर्वाधार निर्माणका लागि समान व्यवहार गरी बजेट विनियोजित गरिएको र प्रतिपक्षको भावनालाई समेत कदर गरेर बजेट विनियोजितमा कुनै प्रकारको विभेद नगरिने उनले बताए।

उनले आगामी आव २०७८/७९ का लागि सरकारले करीब रु ५४ अर्ब को बजेट ल्याइने सम्भावना रहेको उल्लेख गर्दै बजेटले प्रदेशका सबै जिल्लालाई भौतिक पूर्वाधार निर्माण, सङ्घीय राजधानी काठमाडौँलाई हेटौँडाबाट जोड्ने विद्युतीय बसको सञ्चालन र पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण तथा कोभिड–१९ सङ्क्रमण रोग नियन्त्रणलाई सरकारले केन्द्रविन्दुमा राखेर बजेट विनियोजन गरी कार्यान्वयन गर्नेतर्फ केन्द्रित रहेको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*