हेटौँडाका मेयरले रोकेको कोरोनाविरुद्धको खोप उपमेयरले वडावडामै पठाइन्

नवयुग संवाददाता
२६ जेष्ठ २०७८, बुधबार १४:०३

Advertisement

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको १९ वटै वडामा आजदेखि लगाउने भनिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप मेयर हरिबहादुर महतले रोकेपछि चौतर्फी विरोध भइरहेको छ ।

Advertisement

खोप लगाउन वडा कार्यालयहरूले आफ्ना वडाबासीमा सूचना जारी गरेर तयारी सकाएपछि अन्तिम समयमा महतले खोप अभियान प्राविधिक कारण देखाउँदै स्थगित गरेका थिए । खोप कार्यक्रम एक्कासि स्थगित भएपछि वडामा सन्नाटा छाएको थियो ।

Advertisement

वडाध्यक्षहरू, स्वास्थ्यकर्मी, खोप लगाउन आएका वडाबासीहरूले खोप रोकिएपछि महतको निर्णयलाई विरोध गरेका थिए । हेटौँडाको १४ नम्बर वडा कार्यालयले अर्को निर्णय नभएसम्मलाई खोप अभियान स्थगित भएको सूचना जारी नै गरेको थियो ।

Advertisement

अधिकांश वडाध्यक्षहरूले मेयर महतको निर्णय उपयुक्त नभएको भन्दै उपमेयर मिनाकुमारी लामालाई खोप पठाउन दबाब दिएका थिए । खोप लगाउन आइपुगेका नागरिक र वडाध्यक्षहरूको दबाद थेग्न नसकेपछि उपमेयर मिनाकुमारी लामाले खोप वडावडामै पठाइदिएकी छन् ।

‘मेयरज्यूले किन हो खोप अभियान स्थगित गर्नुभएछ । मलाई धेरै दबाब आयो । उपमहानगरपालिका आएर वडावडामै खोप पठाउने व्यवस्था मिलाएकी छु,’ लामाले भनिन् ।

हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार वडामा खोप लगाउन सुरु गरिएको छ । उनले प्राविधिक कारणले खोप अभियान स्थगित भए पनि पछि खोप लगाउन सुरु गरिएको जानकारी दिए ।

उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्द्धन शाखाले १९ वटै वडामा खोप कार्यक्रमका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरेको थियो । ६२ वर्षदेखि ६४ वर्ष उमेरका नागरिकलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै छ । हेटौँडाभित्र ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ६ हजारभन्दा बढी नागरिक छन् । तर, खोप २ हजार ७ सय मात्रै आएको थियो ।

‘वडामा स्वास्थ्यकर्मीको टोली खटिएर तयारी गरिरहनु भएको थियो । मेयरले खोप अभियान रोक्नुभएछ तर, मलाई थाहा थिएन । अब समस्या छैन, सबै वडामा खोप लगाउन थालिएको छ,’ उपमेयर लामाले भनिन्, ‘हाल अपुग खोप आएपनि हामी थप खोप ल्याउन पहल गर्छौं । नगरवासीको सुरक्षा नै हाम्रो दायित्व हो । उहाँहरूलाई कोरोना महामारीबाट बचाउन हामीले दिनरात मिहिनेत गरिरहेका छौँ ।ु उनले वडावडामा स्वास्थ्यकर्मी खटाएर संक्रमितहरूको निगरानी पनि गरिरहेको बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*