एमाले एकताबारे विष्णु पौडेल र गोकर्ण विष्टको आ–आफ्‍नै तर्क

नवयुग संवाददाता
२०७८, २७ जेष्ठ बिहीबार १३:२४

Advertisement

काठमाडौँ । नेकपा एमालेका नेता गोकर्ण विष्टले सर्वोच्च अदालतले दिने जुनसुकै फैसलालाई स्वीकार गरेर सहमति र एकता कायम गर्न सकिने बताएका छन् । पार्टीभित्रको आन्तरिक किचलो विभिन्‍न बहाना र रूपमा सर्वोच्च अदालत पुगेको भन्दै पार्टी एकताको लागि सर्वोच्च अदालतले दिने फैसलालाई सबैले स्वीकार गर्ने सहमति बनाउन सकिने स्पष्ट पारे ।

Advertisement

नेता विष्टले दुवै पक्षका नेताहरूले आफ्नो व्यक्तिगत इगो, मैले गरेको सही भन्‍ने अडान त्याग्‍नुपर्ने बताए । संवादको क्रममा नेता विष्टले प्रतिनिधि सभा विघटन गर्ने पक्षले आफ्नो निर्णय फिर्ता लिन अप्ठ्यारो हुने र प्रधानमन्त्रीविरूद्ध अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरूलाई पनि हस्ताक्षर फिर्ता लिन सजिलो नहुने अवस्थामा सर्वोच्च अदालतले जे फैसला दिन्छ यसैलाई मानेर अगाडि बढ्ने एकताको बाटोमा आउन सकिने उपाय हुने उनको भनाइ छ ।

Advertisement

पार्टीभित्र देखिएको व्यक्ति–व्यक्ति बीचको टसल र अडानको कारणले पार्टीलाई नै समाप्त पार्ने दिशामा लैजान नदिन पार्टी एकता र कम्युनिष्ट आन्दोलनविरूद्ध भएका सबै निर्णय खारेज गरेर पनि एकताको ढोका खोल्न सकिने नेता विष्टले तर्क गरे । पार्टीको आन्तरिक किचलोमा पार्टी भित्रका अतिवादी सोच भएका केही व्यक्ति र बाहिरका केही शक्तिहरूले खेलिरहेको स्वीकार गरे । बाहिर भएकालाई पार्टीभित्रै ल्याउनै हुन्‍न भन्‍ने र बाहिर रहेकाले आफ्नो अडान नमाने छुट्टै बाटो बनाउनुपर्छ भन्‍ने विचारले अन्तरकलह बढाइरहेको नेता विष्टले बताए ।

Advertisement

यस्‍तै उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले माधव नेपाल–झलनाथ खनाल समूहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको बताए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उदार र खुला विचारका साथ गरेको आह्‍वानलाई यसरी अस्वीकार गर्नुभनेको नेपाल–खनाल समूह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको बताए । अर्थमन्त्री पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने जिकिर गरे ।

पार्टीका आम कार्यकर्ता एकताको पक्षमा रहेको अवस्थामा नेपाल–खनाल पक्ष कुनै पनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एकताको लागि घातक भएको बताए । यसरी घातक खेलमा लागेका व्यक्तिहरू अलग हुनसक्ने तर पार्टी विभाजन हुन नसक्ने स्पष्ट पारे । संस्थापन पक्षले पार्टी एकताको लागि अन्तिमसम्म कोसिस गर्ने उनको भनाइ छ । पार्टीका नेता, कार्यकर्ता अहिले पनि एकताको पक्षमा रहेकोले विभाजनमा जाने नेताहरूलाई कसैले साथ नदिने तर्क गरे। आफूहरूले विभाजन गर्ने गलत कामलाई सम्पूर्ण रुपमा असफल बनाउने पनि अर्थमन्त्री पौडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*