सातै प्रदेश सरकारले ल्यायो आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट, कुन प्रदेशमा कति ?

नवयुग संवाददाता
१ असार २०७८, मंगलवार २०:३७

Advertisement

काठमाडौँ । देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट सार्वजनिक गरेका छन।असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण प्रदेश सरकारहरुले मंगलवार प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्। सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोभिड उपचार,रोकथाम र नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेका छन्।

Advertisement

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार बसेको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब ५ करोड कमको बजेट प्रस्तुत गरेका हुन्।

Advertisement

प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपौयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।प्रदेश १ मा बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८ अर्ब ४३ करोड ७४ लाख कम हो। आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङले चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख र पूँजीगतर्फ १५ अर्ब ५ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको बताए।

Advertisement

स्थानीय तह बित्त हस्तान्तरणतर्फ ३ अर्ब २२ करोड ४२ लाख र वित्तीय व्यवस्थातर्फ ३ करोड रुपैयाँ विनियोजन गरिएको उनले प्रदेशसभमा जानकारी दिए। मन्त्री आङ्बुहाङले कुल बजेटको ४६.३ प्रतिशत पुँजीगत, ४३.६ प्रतिशत चालु र १० प्रतिशत स्थानीय तह बित्त हस्तान्तरणमा खर्च हुने बताए।

प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ बजेट विनियोजना गरेको जानकारी दिए।

बजेटमा आन्तरिक राजस्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट १३ अर्ब ९० करोड ३४ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ५८ करोड ८९ लाख र चालू आर्थिक वर्षको बचतबाट ६ अर्ब २५ करोड व्यहोरिने उल्लेख गरिएको छ। यसबाट अपुग हुने १ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने मन्त्री यादवले जानकारी दिए।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ।स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार विनियोजन गरिएको छ।आगामी आवको बजेट चालु आवको भन्दा साढे ३ अर्बभन्दा बढी हो। आर्थिक वर्ष २०७८/७९ मा ३७ अर्ब ३५ करोडको बजेट थियो।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको छ ।यो चालु आवभन्दा झण्डै ५ अर्ब कम हो । चालु आवको बजेट ३४ अर्ब ८० करोड रुपैयाँ छ। प्रदेशको आन्तरिक स्रोत अपेक्षाकृत रुपमा बढ्न नसकेको, राजश्व बाँडफाँट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा कमी आएकाले बजेटको आकार घटेको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए।

वागमती प्रदेशले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख रूपैयाँको बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बजेट सार्वजनिक गरेका हुन्। विनियोजित कुल बजेटमध्ये चालु खर्चतर्फ २६ अर्ब १ करोड रुपैयाँ अर्थात ४५ प्रतिशत, पुँजीगततर्फ २९ अर्ब ७० करोड अर्थात ५१ प्रतिशत र वित्तिय व्यवस्थापन तर्फ २ अर्ब रूपैयाँ अर्थात ४ प्रतिशत छुट्याइएको छ ।

विनियोजित खर्च व्यवस्थापन गर्ने स्रोततर्फ कर राजस्ववाट २३ अर्ब ८२ करोड , अन्य राजस्वबाट ६ अर्ब ८२ करोड, संघीय सरकारबाट प्राप्त हुने वित्तिय अनुदान १६ अर्ब ९२ करोड , विविध प्राप्ति १ अर्ब ५ करोड र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड व्यवस्था गरिने बजेटमा उल्लेख छ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागी ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको छ। विनियोजितमध्ये पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लख २१ हजार अर्थात ५७ प्रतिशत र चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार अर्थात ३४ प्रतिशत रहेको छ। कर्णाली प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कोरोनासम्बन्धी जनचेतना फैलाउन महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिने र यसको लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको बताए। प्रदेश सरकारले कोरोनाको कारण सम्भावित खाद्य संकट नियन्त्रणको लागि आधारभूत खाद्यान्न खरिद र ढुवानीका लागि ५० करोड विनियोजन गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*