कांग्रेसमा विद्रोही उम्मेदवारको सदस्यता नवीकरण नहुने

नवयुग संवाददाता
५ असार २०७८, शनिबार १२:२५

Advertisement

काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि सदस्यता नवीकरणमा कडाइ गरेको छ। कुनै पनि चुनावमा विद्रोही रहेका उम्मेदवारको सदस्यता नवीकरण नगरिने भएको छ।  कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १६–१९ भदौमा काठमाडौंमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसका लागि आठ लाख सदस्यको केन्द्रले उपलब्ध गराएको सफ्टवेयरमा ‘इन्ट्री’ भइसकेको छ।

Advertisement

जसमा तीन लाख ८० हजार पुराना सदस्य छन्। बाँकी चार लाख २० हजार नयाँ सदस्य रहेका छन्। ढिलाइ भएका केही जिल्लाबाट सदस्यता ‘इन्ट्री’ गर्ने काम भइरहेको छ। धेरै जनाको सदस्यता नवीकरण भएको छैन। त्यसका लागि कांग्रेसले ९ असारसम्मको म्याद थपेको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सचिव केशव रिजालले जनाएका छन्। छुटेका सदस्यहरूको नवीकरणका लागि प्रदेश, जिल्ला, क्षेत्र, नगर र गाउँ समितिलाई निर्देशन दिएको छ। यससँगै नवीकरण छुटेका व्यक्तिले सीधै केन्द्रीय सदस्यता छानबिन समितिमा पनि पठाउन सक्नेछन्।

Advertisement

तर, त्यसका लागि केही शर्त राखिएको छ। कुनै पनि तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका व्यक्तिको भने सदस्यता नवीकरण नगरिने छानबिन समितिका सचिव रिजालले बताए। त्यस्तै, विद्रोही उम्मेदवारको समर्थन र प्रस्तावकको पनि सदस्यता नवीकरण नगरिने भएको छ। यससँगै पार्टीको अनुशासनको कारबाहीमा परेका व्यक्तिको पनि सदस्यता नवीकरण नगरिने उनले बताए।

Advertisement

कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी परेका उजुरीमाथि छानबिन शुरू गरेको छ। छानबिन समितिले २० असारभित्र छानबिन गरेर सभापति शेरबहादुर देउवालाई बुझाउने भएको छ। त्यसपछि ३० असारभित्र सभापतिले क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई बुझाउने म्याद तोकेको छ।

यो प्रक्रिया सकिएपछि कांग्रेसको १४औं महाधिवेशन शुरू हुनेछ। १३ साउनमा गाउँ तथा नगरको वडा अधिवेशन तोकिएको छ भने १६ साउनमा गाउँ तथा नगर अधिवेशन हुने भएको छ। त्यस्तै, २० साउनमा प्रदेश सभा क्षेत्रीय अधिवेशन, २३ साउनमा प्रतिनिधि सभाको एक निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय अधिवेशन र २६ साउनमा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय अधिवेशन हुनेछ।

शुक्रबार केन्द्रीय कार्यसमितिले संशोधन गरेको कार्यतालिका अनुसार १ र २ भदौमा प्रदेश अधिवेशन तय गरिएको छ। त्यसपछि १६ देखि १९ भदौमा केन्द्रीय महाधिवेशन हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*