वीरेन्द्रनगरलाई अब उपमहानगरपालिका बनाइँदै

नवयुग संवाददाता
१० असार २०७८, बिहीबार १८:४७

Advertisement

सुर्खेत । कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई अब उपमहानगरपालिका बनाइने भएको छ। नगरपालिकाको बिहीबार बसेको नगरसभाले यो एजेण्डा पारित गरेको छ।

Advertisement

कर्णाली प्रदेश सरकारमार्फत उपमहानगरपालिका बनाउने एजेण्डा संघीय सरकारमा जाने नगरपालिकाका उपमेयर मोहनमाया ढकालले जानकारी दिइन्। ‘अहिले हामीले यो एजेण्डा बनाएर पास गरेका छौं, अब प्रदेशमार्फ संघीय सरकारमा गएर एजेण्डा पारित हुनुपर्छ’ उनले भनिन्। वीरेन्द्रनगरलाई उपमहागरपालिका बनाउनका लागि आवश्यक मापदण्ड पुग्ने उनले बताइन्। उपमहागरपालिकाका लागि सम्बन्धित क्षेत्रभित्र बसोबास गर्ने जनसंख्या २ लाख, स्थानीय तहको आन्तरिक राजस्व २५ करोड पुगेको आवश्यक प्रशासनिक संरचना तयार हुनुपर्छ।

Advertisement

उपमेयर ढकालका अनुसार अहिले वीरेन्द्रनगर नगरपालिकाभित्र बसोबास गर्ने जनसंख्या झण्डै साढे ३ लाख छ। जसमध्ये स्थायी बसोबास गरेको संख्या १ लाख ३० हजार छ भने अस्थायी बसोबास गरेको संख्या २ लाख बढी छ।

Advertisement

‘वीरेन्द्रनगरमै बसोबास गरिरहेका तर बसाइँसराइँ कागजात नबनाएका धेरै हुनुहुन्छ, उहाँहरुलाई पनि यो मापदण्डका लागि समावेश गर्न मिल्छ,’ उपमेयर ढकालले भनिन्, ‘मापदण्ड अनुसार चाहिने आन्तरिक राजस्व पनि हाम्रो पर्याप्त छ।’

अहिले वीरेन्द्रनगरको आन्तरिक राजस्व २१ करोड ५० लाख छ। यसमा संघ र प्रदेश सरकारबाट बाँडफाँड भएर आउने राजस्वलाई जोड्ने हो भने २५ करोड पुग्ने ढकालले बताइन्। प्रशासनिक संरचना पनि अधिकांश भएको र बाँकी आवश्यक पर्ने संरचना निर्माणको सम्भावना पनि पर्याप्त भएकोले वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउने प्रस्ताव गरिएको उनले बताइन्।

कर्णाली प्रदेशभर ७९ वटा स्थानीय तह छन । हालसम्म कर्णाली प्रदेशभित्र एउटा पनि उपमहानगरपालिका छैन। अहिले भएका स्थानीय तहमध्ये २५ वटा नगरपालिका छन् भने ५४ वटा गाउँपालिका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*