वडा अध्यक्ष, सदस्यसहित ३ जना लागु्औषधसहित पक्राउ

नवयुग संवाददाता
४ श्रावण २०७८, सोमबार १४:२०

ब्राउन सुगरसहित पक्राउ परेका वडा अध्यक्ष, वडा सदस्यसहित ३ जना सोमबार सार्वजनिक गर्दै प्रहरी । तस्बिर: क्रान्ति शाह

पर्सा । पर्सामा वडा अध्यक्ष, वडा सदस्यसहित ३ जना लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित पक्राउ परेका छन् । पर्साको पकाहामैनपुर गाउँपालिका १ का वडाअध्यक्ष ५५ वर्षीय अमेमरीका सहनी, त्यही वडाका वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र वडा अध्यक्ष अमेमरीका नजिकका मान्छे ५२ वर्षीय रामआदेश सहनी खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।

Advertisement

तीनैजनालाई ७९ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए । वडा अध्यक्ष अमेरीका र वडा सदस्य बलिष्टर दुवैजना नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

Advertisement

सरकारी नम्बर प्लेटको मोटरसाइकलमा जनप्रतिनिधिले लागुऔषध ओसारी रहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका १९ बर्वास्थित सडकखण्डबाट आइतबार राति तीनैजनालाई पक्राउ गरेको हो ।

Advertisement

बर्वास्थित तिलावे पुल नजिक सडकमा प्रहरीले वडा अध्यक्ष अमेरीकाले चलाइरहेको गाउँपालिकाको ना १ ब ३५९५ नम्बरको सरकारी मोटरसाइकल रोकेर जाँच गर्दा मोटरसाइकलको फिल्टर बक्सभित्र लुकाएर राखिएको ७९ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

Advertisement

त्यहि मोटरसाइकलमा सवार वडा अध्यक्षका नजिकका मान्छे ५२ वर्षीय रामआदेश र वडाध्यक्षकै पछाडि आइरहेका ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार वडासदस्य बलिस्टर सहनीलाई पनि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

तीनैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी निरीक्षक थापाले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा वडा सदस्य बलिष्टरले भने लागूऔषध तस्करीको स्कर्टिङ गरिरहेको खुलेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले भने जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताए । अहिले खैरो हेरोइनसहित पक्राउ परेका वडा अध्यक्ष अमेरीका १२/१३ वर्ष पहिले पनि लागुऔषध गाजा ओसारपसारमा संलग्न रहेको आरोपमा कैद सजाय भुक्तान गरी छुटेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*