एशियाकै पहिलो चुरियामाई सुरुङमार्ग पुनःनिर्माण हुने

नवयुग संवाददाता
१२ श्रावण २०७८, मंगलवार १४:२८

Advertisement

मकवानपुर । आजभन्दा १०४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको र एशियाकै पहिलो मानिएको सुरुङमार्गको पुनःनिर्माणको जिम्मा माउण्टेन इन्फ्रा कम्पनीले पाएको छ।

Advertisement

बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करीब रु पाँच करोडको अधिकतम् सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्नसक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेकोमा उक्त कम्पनीको प्रस्ताव छनोट भएको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेवबहादुर भण्डारीले जानकारी दिए।

Advertisement

उनका अनुसार सुरुङको पुनःनिर्माणको शिलान्यास यही साउन १४ गते मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने जनाइएको छ। प्रदेश दुईको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङमार्ग वि.सं २०७५ तिर राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको हो।

Advertisement

उक्त मार्गबाट वि.सं २०२० सम्म सवारी आउजाउ हुने गरेको अग्रजहरु बताउँछन्। सुरुङ नेपालको पहिलो त थियो नै त्यतिखेर एशियामै सुरुङमार्ग नभएकोले त्यस समय नेपाल आएका भूगोलविद् टोनी हेगनले आफ्नो आत्मकथामा लेखेका छन्। उनले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रुपमा समेत उल्लेख गरेका छन्।

स्वीट्जरल्याण्डबाट नेपालको खानीलगायतको भूगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आएका टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम् अफ नेपाल’ मा यो सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन्।

यातायात प्रयोजनका लागि निर्माण भएको दक्षिण एशियाकै पहिलो चुरियामाई सुरुङमार्गले ऐतिहासिक महत्व राख्दछ। चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इञ्जिनीयर डिल्लीजङ थापाको नेतृत्वमा निर्माण गरिएको थियो।

वि.सं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग ५०० मिटर लामो थियो। हाल पहिराले एकापट्टीको भाग पुरिएपछि यो मार्गको २८० मिटरमात्र बाँकी रहेको छ। नेपालका पहिलो इञ्जिनीयर थापाले डिजाइन र निर्माण गराएको यो सुरुङमार्ग नजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ। इञ्जिनीयर थापाले सुरुङ खन्न थालेपछि उनलाई सपनामा देवीले म बसेको ठाउँमा बाटो खनिस त्यसको सट्टामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर भनेका कारण थापाले मन्दिर बनाएको किंवदन्ती पाइन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*