सेयर बजार नयाँ उचाइमा, १५ अर्ब नाघ्यो कारोबार

नवयुग संवाददाता
२०७८, १२ श्रावण मंगलवार १५:३३

Advertisement

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्सेले नयाँ रेकर्ड बनाएको छ। यस दिन परिसूचक ३ हजार ७९ अंकमा पुगेको छ, जुन अंक अहिलेसम्मकै उच्च हो। यसअघि आइतबार मात्रै परिसूचकले ३ हजार ५८ अंकको रेकर्ड बनाएको थियो। सोमबार ८ अंकले घटेको बजार आज फेरि २९‍.२ अंकले बढेको हो।

Advertisement

परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। यस दिन १५ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। हिजो १४ अर्ब १३ करोडको कारोबार भएको थियो। कारोबार रकममा भने यसअघि जेठ ३० गतेको रेकर्ड तोडिन सकेको छैन। सो दिन १९ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।

Advertisement

यस दिन कमाउनेमा जलविद्युतका लगानीकर्ता अगाडि रहे भने गुमाउनेमा लघुवित्तका लगानीकर्ता अघि रहे। हिजो मात्रै राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई २० प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेमा सोको ५० प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने व्यवस्था गरेको थियो।

Advertisement

सोही व्यवस्थाका कारण आज लघुवित्त कम्पनीको मूल्य उच्च दरले घटेको हो। समूहगत रुपमा हेर्दा बैंकिङ ३, ब्यापार २, होटल तथा पर्यटन १८ र माइक्रोफाइनान्स समूह ११६ अंकले घटेका छन्। विकास बैंक ३५, जलविद्युत ११९, फाइनान्स ७१, निर्जीवन बीमा १२०, उत्पादन ३०५, जीवन बीमा २६० र अन्य समूह ६० अंकले बढे।

१० कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। यस दिन नेपाल हाइड्रो डेभलपर्स, युनाइटेड मोदी हाइड्रोपावर, जोशी हाइड्रोपावर, मल्टिपर्पोज फाइनान्स, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, हिमालय उर्जा विकास, युनिभर्सल पावर, जानाकी फाइनान्स र युनाइटेड इदी मर्दी आरबीको मूल्य १० प्रतिशतले बढेको छ।

सिनर्जी पावर, रिलायन्स फाइनान्स र आँखु खोला जलविद्युतको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। ग्रीन लाइफ, अपि पावर, हिमालय डिस्टिलरीको मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ।

यस दिन सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ५.७७ प्रतिशत मूल्य गुमाएका छन्। त्यस्तै उन्नति सहकार्य लघुवित्त, जनउत्थान सामुदायिक र नेपाल इन्स्योरेन्सको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ४९ करोड रुपैयाँको कारोबार भयो। दोस्रोमा रहेको अपि पावरको ४८ करोड, युनाइटेड मोदीको ३६ करोड र सानिमा माइ हाइड्रोको ३५ करोड रुपैयाँ बराबरको कारोबार भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*