राजश्व विभागको स्टीकरसहित ३ भारतीय र २ नेपाली पक्राउ

नवयुग संवाददाता
२६ श्रावण २०७८, मंगलवार १३:१२

Advertisement

कैलाली । कैलालीमा आन्तरिक राजश्व विभागको स्टीकरसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले सोमबार गौरीगंगा नगरपालिका–७ तालबन्दस्थित सडकखण्डबाट राजश्व विभागको स्टीकरसहित तीनजना भारतीय र दुईजना नेपालीलाई पक्राउ गरेको जनाएको छ ।

Advertisement

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीका १९ वर्षीय संजित कुमार र सोही ठाउँका २० वर्षीय रिङ्कु कुमार र २२ वर्षीय सुरेश कुमार छन् । यसैगरी रौतहटको गरुडा नगरपालिका–१ का ४० वर्षीय राजकुमार शाह र पर्साको वीरगञ्ज महानगरपालिका–१३ का ५५ वर्षीय विजय गुप्ता पनि पक्राउ परेका छन् ।

Advertisement

गौरीगंगा नगरपालिकाबाट सुरुमा प्रहरीले ना ३२ क ६२८१ नम्बरको मोटरसाइकलमा दुई लाख ८८ हजार ६ सय ७४ वटा आन्तरिक राजश्व विभागको स्टीकर फेला पारेर संजित र रिङ्कुलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा गौरीगंगा नगरपालिका–७ को मसुरियामा रहेको वेष्टर्न लिकर्स प्रालीबाट ल्याएर कोठामा छाप लगाउन लगेको भन्ने सूचनापछि खानतलासी गर्दै त्यहाँ बस्ने थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

उक्त कोठाबाट प्रहरीले ७० युपी ३०० एमएल लेखिएको ३ थान छाप, ३ थान स्ट्याम्प प्याड र मसीसमेत बरामद गरेको छ । अहिले आन्तरिक राजश्व कार्यालय कैलालीसँगको समन्वयमा स्टिकर भण्डारण गरिएको कोठा सिल गरेर अनुसन्धानको काम भइरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । पक्राउ परेका पाँच जनासहित बरामद भएका सबै सामान आन्तरिक राजश्व कार्यालय धनगढीको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*