पुस्तक समीक्षाः ममताको मनितो, समयको अभिलेख

नवयुग संवाददाता
५ भाद्र २०७८, शनिबार १३:३२

Advertisement

बर्खामा पर थाप्लेको डाँडातिर परेको पानी ठुल्ढुंगाको खोलो तरेर पुम्दीसम्म हम्मेसी नआउने । क्रिस्ती, खाल्सेतिर देखिएको झरी भने बिस्कुन उठाउन नपाउँदै आँगनमा ओइरिन आइपुग्ने ।

Advertisement

त्यो बेलाको पहाडी जीवन, कास्कीको पुम्दी गाउँमा लीलावती र शोभाकर बराललाई जहिल्यै चटारो । स्थायी शिक्षक बराल शनिबार मात्र घरका पूर्णकालीन । एकपछि अर्को सन्तान ओथार्दै, खेतबारी, बस्तुभाउ, इष्टमित्र, दान–धर्म सबै धान्दै परिवारको सामाजिक इज्जत–प्रतिष्ठा बढाउने मुख्य भूमिकामा छिन्, लीलावती ।

Advertisement

यो कुरा करीब चारदशक अघिको हो । अहिले त पुम्दीमा पहिलेका सुख–दुःखहरू बदलिएर नयाँ जीवनशैली हावी भएको छ । पहिलेको झम्झमे झरी र सिमसिमे पानीको ठाउँ मुसलधारे वर्षाले लिएको छ । हावाले बहने दिशा र पानीले पर्ने तरिका नै परिवर्तन गरे जस्तो छ ।

Advertisement

मानिसले सुनपानी छर्केको मकैका बीउ छर्न पनि छाडिसके । बिहान चार बजेर उठेर मट्टिखानको डाँडामाथि तीनतारे, सप्तर्षि र ध्रुवतारा नियाल्ने आमाछोरा पनि अहिले पुम्दीमा छैनन् । आमा त वैकुण्ठवासी नै भइसकिन् ।

उनले हुर्काएर पखेटा हालिदिएका पाँच छोरामध्ये तीनभाइ उडेर पोखरा–काठमाडौं बसेका छन् । तीमध्ये काठमाडौंवासी माहिलो खगराजले आमाले तारा चिनाएको सम्झँदै औपन्यासिक कृति ‘स्यानी’ लेखेका छन् । त्यसैको साधारण समीक्षा प्रयास हो, यो आलेख ।

हाल नेपाल सरकारका सचिव रहेका डा। खगराज बरालले गत चैतमा सार्वजनिक यो उपन्यासमा उनले आमाको ममतामा बितेको समयको बयानसँगै त्यो कालखण्डको समग्र नेपाली पहाडको आर्थिक–सामाजिक–सांस्कृतिक इतिहास उतारेका छन् ।

करुण उपन्यास ‘स्यानी’ले खास गरेर २०५० को दशकअघि ग्रामीण परिवेशमा हुर्केका हरेक पाठकलाई बेस्सरी आफ्ना आमा सम्झाउँछ । बरालले आमासँगको दिनचर्या सम्झेर औपन्यासिक रचना नै यसरी गरेका छन् कि यसले हरेक पाठकमा आमाको छत्रछायाँमा बितेका एक–एक पलको याद ताजा बनाइदिन्छ ।

आमाप्रति अनुरत र कृतज्ञ हुँदै लेखिएको उपन्यास ‘स्यानी’ले धेरै विषयमा ‘नोस्टाल्जिक’ बनाउँछ । उपन्यासमा यस्ता दर्जनौं घटना–वर्णन छन्, जसले पाठकलाई फरक्क फर्काएर आ–आफ्नो बाल्य वा किशोरकालमा पु¥याएर आनन्द वा पछुतोमा पारिदिन्छ ।

आफ्ना सन्तानप्रति आमा–बाको माया–स्नेहमा उन्नाइस–बीस हँुदैन । कुनै सन्तान कमजोर भए उप्रति बेग्लै सुर्ता थपिन्छ । आमा–बावुप्रति छोराछोरीको भावना भने फरक–फरक हुन्छ । कोही आमा या बावुप्रति बढी अनुरक्त हुन्छन् । खगराज आमाप्रति बढी अनुरक्त रहेछन् । उनी दौंतरी समूहमा रमाउन थाल्ने किशोरकालमा पनि आमाकै छायाँ भएर हुर्कन्छन् ।

ज्योतिषीले मर्न सक्छ भनिदिएको खगराजको रक्षामा आमाले गरेको अनेकानेक उपाय र लिएको चिन्ता मर्मस्पर्शी छ । खगराज पनि ‘ज्ञानी बालक÷किशोर’ बन्छन् । उनी बरु रोइदिन्छन्, तर जिद्दी गर्दैनन् । जसले गर्दा व्यवहार कुशल आमालाई सजिलो पर्छ । खगराज भाइहरूलाई पनि आमाले झैं माया, संरक्षण गर्छन् । उनीहरू बिरामी पर्दा पीर मान्छन् र बुवाको अग्रसरता खोज्छन् ।

सुक्खा खोकीले सताएको कान्छो छोरो कमललाई पिठ्यूँमा बोकेर भुइँमा उज्यालो नखसिसकेको सुनसान वनको बाटो समाउँछिन् आमा । खगराज पछि–पछि लाग्छन् (जूनको उज्यालोमा आमा र म कस्सिएर हिंड्यौं । फलाँटे हुँदै हलाको टाउको पुगेपछि मलाई डर लाग्यो– तल पनि वन माथि पनि वन, कतै पनि घर थिएनन् । हामी सास दबाएर हिंडिरह्यौं) ।

त्यसरी फड्केको भुनाँको मेडिकलमा जँचाएर असिन–पसिन हुँदै घर आइपुग्दा बुवा आरामले भात पकाइरहेका हुन्छन् । छोराछोरी हुर्काउन आमालाई त्यति सास्ती र बावुलाई सहज रहेछ, त्यो बेला । बावुको ‘पावर’ कस्तो भने आमा र खगराजले सारै सुवानी, दुधालु र मायालु काली भैंसीलाई बेचिनबाट रोक्न सक्दैनन्, रोएर चित्त बुझाउँछन् ।

बराल परिवार दुई, चार, पाँच हुँदै सात सदस्यीयमा स्थिर रहन्छ । दुःख–बिमार आइलाग्दा बाहेकको सबै अवस्थामा परिवार विल्कुलै शान्त, सक्रिय र सहयोगी छ । कुशल गृहिणी र जागिरेको त्यो घरमा धर्म–कर्मको कुनै विधि छुट्दैन । हरेक अवसरमा मीठो–मसिनो पाक्छ । ठूलो डाडुभरि दूध खान भने लैनो भैंसी भएकै अवसर पर्खनुपर्ने । त्यो बेलाको पहाडी अर्थतन्त्रमा ‘एकमानाको बन्दोबस्त’ भएकाहरूले पनि अड्कलेर खानुपर्ने ।

२५७ पेजको उपन्यासमा यस्ता अनेक घटना छन्, जसमा तत्कालीन पहाडी बस्तीहरूको चित्रात्मक वर्णन छ । आमाको ममता, त्याग र सन्तोष सम्झँदै लेखिएको यो उपन्यास समाजिक–सांस्कृतिक इतिहासको गतिलो अभिलेख पनि बन्न पुगेको छ ।

बरालले आमा बितेपछिको १३ दिनलार्ई १३ खण्ड बनाएर लेखेको यो उपन्यासले पाठकलाई शास्त्रका अनेक सन्दर्भसँगै सोह्र संस्कारमध्ये अन्तिम मृत्यु संस्कार विधिको ज्ञान पनि दिन्छ । पोखरामा जागिरे बरालले पुम्दी घरमा आमा बिरामी भएको खबर पाएपछि शुरू हुने उपन्यासमा एक दाजु र तीन भाइसँग १३ दिन किरियापुत्री बस्दा आमाको छत्रछायाँमा बितेका समयको पत्र–पत्र सम्झेका छन् ।

उपन्यासकारले अठार पुराणको चर्चा र हरेक दिनको संस्कारमा गरुडपुराण वाचक शिव दाइले गरेका व्याख्या उद्धृत गरेर राखेका छन् । पुराणका पात्रहरूको सौर्य र कर्मको वर्णनले उपन्यासलाई रोचक र उपयोगी बनाएको छ ।

बराललाई ‘महिला र शूद्रप्रतिको पूर्वाग्रही दृष्टिकोण’ बाहेक गरुडपुराणका अधिकांश कुरा सही लाग्छन् । मृतकको नाममा दिइने दानमा समय सुहाउँदो बदलाव आवश्यक देख्छन् । र, वाचकबाट समय सन्दर्भ अनुसारको व्याख्या भए यो पुराणको गरिमा–महिमा बढ्ने ठान्छन् ।

बरालले आमाको पार्थिव शरीरलाई उपन्यासभरि ‘लाश’ भनेका छैनन्, जम्मा एक ठाउँमा ‘शव’ लेख्न सकेका छन् । बरु ‘तिमोरले मलाई जिम्दै मा¥यौ कि क्या हो केटाहरू‘’ भन्दै आमा टुप्लुक्क आँगनमा देखिने सम्भावना कल्पेका छन् । उनले आमाको लीलावती नाम पनि सीधै काढेका छैनन् । उपन्यासको नाम आमाको बाल्यकालीन नामबाट जुराएका छन् ।

तीन वर्षको उमेरदेखि मावलीमा हुर्केकी स्यानी लाहुर ९आसाम० पसेका बाबुआमाको स्नेहबाट वञ्चित हुन्छिन् । कतिपय बेला चित्त दुख्दा आफ्ना बा–आमालाई ‘निर्मोही’ भन्ने उनी मावलीबारे भन्छिन्, ‘जुकेपानीका गोतामे भनेपछि डाँडैले झुकेर नमस्कार गर्ने । मामा पनि पढेलेखेका !’

उनले लेखपढको मौकै पाइनन्, तर छिन् सुसंस्कृत । हिउँदमा मनाङ–मुस्ताङबाट ओखती बेच्न आउने व्यापारीहरूलाई खगराजले ‘टोपे’ भनेको सुन्दा हपार्छिन्, ‘यिनोरु टोपे हैनन्, इष्ट भन्न पर्च । यिनोरु भोटका हुन् ।’

व्यवहार कुशल गृहिणी उनमा दया–धर्म, संस्कार, अन्धविश्वास सबै छ । दुहुना भैंसीमा आँखा लाग्छ भनेर सजग हुने उनी भुराहरूले सर्प मारेको थाहा पाएपछि खगराजलाई कराउँछिन्, ‘तेरो जीउ जस्तै होइन सर्पको पनि १ मार्न हुन्च रु अरूले मार्न लागे पनि हुन्न भन्नुपर्नेमा यो पनि थपिथपाउ भर लाएच बा १ तँलाई बद्मास् । भरै बा आएसी पख्लास् !’

खगराजको ब्रतबन्धको विषयमा कुरा नमिल्दा फत्फताउँछिन्, ‘‘ अरूका कार्जेमा जानी, खानी । हाम्राँ नि अरूलाई बोलाम्न पर्दैन रु खान दिने भनेसी यी बुढाका दाँतट पसिनै आम्छन् । ‘अरूका निम्तामा गर खाको, आफ्नो कार्जे नभकाले लाजै लाम्च मलाई त ।’

ब्याउने बेलाको कण्ठी भैंसी ठूलीवेणीको खरबारीमा लडेर थला पर्दा उच्छवास लिंदै छोरालाई भन्छिन्, ‘हेर बाबै ! भैंसी भन्ने मात्र हो । यसको पनि शरीर हाम्रो जस्तै हो । ऊ पनि हामी जस्ती जनना हो । बोक्ने, ब्याम्ने गर्दागर्दै जिन्दगी जान्छ । ‘ जननाको कुरा हाम्ले मात्र बुझ्छम् ।’

एक सन्दर्भमा भन्छिन्, ‘आइमाईका कुरा कि त रुम्टाको पँधेरोमा हुन्च कि त ठुल्चौराँमा हुन्च । कुरा काट्ने त हो नि‘ !’

काठमाडौं केन्द्रले मानकीकृत नमान्ने स्थानीय भाषाको संवादले उपन्यासलाई रसिलो बनाएको छ । ‘भाग्यमानीका भैैंसी बर्सम्टे, अभागीका स्वास्नी बर्सम्टे, छेरुवा गोरुले दाइँ बिगार्छ’ लगायत उखानहरूको प्रयोगले प्रस्तुतिलाई रोचक पारेको छ ।

सामाजिक व्यवहारको क्रममा एकपटक आमा डाँडातिरकी हजुरआमासँग अनमेल विवाह गराउने काममा पनि सामेल भएको उपन्यासकारले लुकाएका छैनन् । त्यस विरुद्ध उजुरी परेको सुइँको पाएकी आमा गाउँमा प्रहरी आउनुअघि नै छलिन्छिन् । डाँडातिरकी हजुरआमा पनि हराउँछिन् ।

बिहेमा जम्मा भएका अरू पनि गाउँ छाडेर हिंडेको खुलाउँदै बराल लेख्छन्– ‘बा गाउँकै स्कूलका मास्टर भएकाले उहाँलाई कसैले शंका गर्दैनथ्यो । त्यस्ता कुरामा चासो पनि दिनुहुन्नथ्यो बा ।

तर, उमेर नपुगेकी केटी खगराजकै कोठामा लुकाएको र विवाह पनि राति त्यही घरमा भएको विवरण पढेका पाठकलाई ‘बामाथि शंका नभएको र उहाँले त्यस्ता कुरामा चासो पनि नराख्ने गरेको’ कुरा ‘हजम’ हुन अलि गाह्रो पर्छ ।

अमिल्दा कुरा अरू पनि छन् । जस्तो– विद्वान ऋषि व्यास, पोखराबाट जहाजमा भैरहवा, भदौको कुनै शनिबार बा घाँस काट्न जानु इत्यादि । धागोले बाँधेको चिठी आउने त्यो समयमा आमाले सिगरेट सल्काएको, हली–खेतालाले पनि सिगरेट खोजेको, आमाले ‘राजा हरिश्चन्द्र’ फिल्म हेरेको कुराहरू पनि अमिल्दा लाग्छन् ।

उति सम्पर्क, हेलमेल नभएर होला उपन्यासकार मावलीप्रति भावहीन छन् । लेख्छन्– आमाका बा चनौटे आएका बेला अचानक बिते । लाम्लिङ ९आसाम० मा आमाकी आमा बितिन् । ‘आमाका माइती भारतको आसाममा थिए । त्यसैले हाम्रो मामाघर पनि आसाम थियो’ जस्ता वाक्यहरूले भाषाको वहाव बिगारेको छ । ‘मुखमा हातका औंला हालेर सुसेल्नु’ टाइपका असम्पादित वाक्य धेरै छन् ।

‘स्वाँराका ताराका बाले सिम्लेका अंकललाई बारी बारी ल्याई चिन्नेका गराको एउटा ढुंगामा टाउको ठोकाएर नागको थान चिनाइदिएका हुन् रे’ पढ्दा पाठकलाई गण्डकी भेगमा ‘अंकल’ पसेको उहिल्यै रहेछ भन्ने लाग्छ ।

यस्ता सामान्य कमजोरीका बाबजूद, पाठकलाई पकडमा राख्ने शक्ति उपन्यास ‘स्यानी’ मा छ । आमा सबैका लागि सधैं प्यारी र सम्माननीय हुन्छिन् । आमालाई लिएर सबैसँग आ–आफ्नै सन्तुष्टि र गर्व हुन्छन् । आमालाई नभेटेको वा भेट्न नपाएको, केही दिन नसकेको, बेखुस् पारेको जस्ता आ–आफ्नै बिस्मात्हरू पनि हुन्छन् । अन्त्यमा सधैंको लागि आमासँग विछोडिने दुर्भाग्य सबैले पाएकै हुन्छन् ।

आमाप्रतिको भावना, सन्तुष्टि, गर्व, बिस्मात् र पीडाको कुरा सबैले लेख्न भने सक्तैनन् । त्यस्तो सोच, धैर्य र कौशल बरालले देखाएका छन् । त्यसो त यो बरालको तेस्रो कृति हो । यसअघि उनले समाजोपयोगी जीवनका लागि आवश्यक शिक्षा र चिन्तन सम्बन्धी दुई पुस्तक ‘सिकाइ र सहयोग’ तथा ‘सिकाउने शैली’ प्रकाशित गरेका छन् ।

आमाप्रति अनुरत र कृतज्ञ हुँदै लेखिएको उपन्यास ‘स्यानी’ले धेरै विषयमा ‘नोस्टाल्जिक’ बनाउँछ । उपन्यासमा यस्ता दर्जनौं घटना–वर्णन छन्, जसले पाठकलाई फरक्क फर्काएर आ–आफ्नो बाल्य वा किशोरकालमा पु¥याएर आनन्द वा पछुतोमा पारिदिन्छ ।

‘दगुर दगुर कुहिरो तेरो घरमा चोर पस्यो’ र ‘अकना बकना चारै चकना’ देखि फुरेउलाका कथा, भजन, दाइँ गीत, तीज गीत र रत्यौलीसम्मको दृश्य छन्, उपन्यासमा । रत्यौलीको सन्दर्भमा बराल लेख्छन्– रत्यौली भनेपछि आमाहरू देउराली स्वाँरादेखि साइ स्वाँरासम्म पुगिहाल्थे ।

कुकुरले नटोक्ने एउटा हाँसउठ्दो मन्त्र पनि दिएका छन् उनले । खरानी, माटो जे छ हातमा लिएर ‘ॐ कालीकुत्ते सेती दाँत, आयो कुत्ते लफर लफर कान, फर्किंदो कुत्ते महादेवकी वहान फट्’ भन्दा कुकुुरले टोक्दैन भन्ने कुरा रमाइलो छ ।

बाले ‘भाइरथेकाँ गर देवी भागवत किताब लेर आ’ भनेपछि खगराज दौडेर गएर घाँस काट्न गएकी देवी दिदीको किताब लिएर आउँछन् । यस्ता विवरणले उपन्यासको मेलो सर्न सहज बनाउँछ । करुणा भाव जगाउने ‘स्यानी’ साहित्यको उपन्यास विधा भए पनि समाज अध्येताहरूको लागि समेत पठनीय, उपयोगी र संग्रहणीय छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*