सरकारको संलग्नताबिनै पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री

नवयुग संवाददाता
१२ भाद्र २०७८, शनिबार १४:१८

Advertisement

कास्की । नेपाल सरकारको संलग्नताबिनै पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ । ४९ वर्षपछि सरकारलाई स्वामित्व हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौताविपरीत मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले बापो (बतास–पौडेल) होल्डिङ्सलाई मेडिकल कलेज बिक्री गरेको हो ।

Advertisement

निर्माण–सञ्चालन–हस्तान्तरण (बुट) मोडलमा बनेको अस्पतालले सरकार पक्षलाई थाहै नदिई शुक्रबार भर्चुअल माध्यमबाट शेयर खरिद सम्झौता ९एसपीए० गरेको छ । जसअनुसार ३ अर्ब २५ करोड रुपैयाँ लिएर भारतीय समूहले बापो होल्डिङ्सलाई मणिपाल सुम्पिएको छ । होल्डिङ्समा आनन्दराज बतास अध्यक्ष रहेको बतास अर्गनाइजेसनको ६० प्रतिशत र नारायण पौडेल अध्यक्ष रहेको अटोवेज ग्रुपको ४० प्रतिशत लगानी रहेको छ । मेडिकल कलेज र अस्पतालको कुल मूल्यांकन २ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने करबापत बुझाउनुपर्ने झण्डै १ अर्ब रुपैयाँ रहेको छ । अस्पतालको अध्यक्षमा बतास र उपाध्यक्ष पौडेल रहेका छन् । बतास समूहका प्रबन्ध निर्देशक शान्तराज बतास तथा निर्देशक वीपेन्द्रराज बतास बोर्ड सदस्य छन् ।

Advertisement

०४६ सालमा प्रजातन्त्रको पुनर्वहालीपछि बेलायत पुगेका गिरिजाप्रसाद कोइरालाले भारतीय लगानीकर्ता समूह मणिपाल ग्रुपका अध्यक्षलाई भेटी नेपालमा मेडिकल कलेज खोल्न आग्रह गरेका थिए । भारतका विभिन्न सहरमा मेडिकल कलेज सञ्चालन गरेको ग्रुपले सन् १९९२ मा नेपाल प्रवेश गर्‍यो । मेडिकल कलेज सञ्चालन गर्ने सम्बन्धमा उक्त वर्ष अक्टोबर १८ मा शिक्षा मन्त्रालयमार्फत मणिपाल ग्रुपसँग सम्झौता भयो । सम्झौता बमोजिम सरकारले फूलबारी र दीपमा १ सय ६० रोपनी जमिन ४९ वर्षका लागि भाडामा उपलब्ध गरायो । सन् १९९४ मा मणिपाल सञ्चालनमा आएपछि उक्त समयावधि सुरु भयो । तत्कालीन शिक्षा मन्त्री गोविन्दराज जोशी र मणिपाल ग्रुपका अध्यक्षबीच सम्झौता भएको थियो ।

Advertisement

बुट मोडेलअन्तर्गत निर्माण भएकोले सन् २०४३ भित्र यो अस्पताल सरकारलाई हस्तान्तरण गर्नुपर्छ । तर, २२ वर्ष अगावै मणिपाल ग्रुपले सरकार पक्षलाई थाहै नदिई बिक्री गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले मणिपाल किनबेचबारे सरकारलाई कुनै जानकारी नभएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*