सुन तस्करी प्रकरणको बहस सकियो, मंगलबारसम्ममा फैसला

नवयुग संवाददाता
१७ आश्विन २०७८, आईतवार २०:५६

Advertisement

विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । गत आइतबारदेखि जिल्ला अदालत मोरङमा सुरु भएको सुनुवाइ आइतबार सकिएको हो । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा एक सातायता जारी सुनुवाइ आइतबार सकिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए । उनका अनुसार प्रतिवादी तर्फका कानुन व्यवसायीको बहसपछि आइतबार नै सरकारी वकिलको कार्यालयले प्रतिउत्तर बहस गरेको थियो । एकसाता लामो बहस सकिएको बताउँदै उनले सोमबार नभए मंगलबारसम्म फैसला आइसक्ने बताए ।

Advertisement

आइतबार सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्ले र उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसालले प्रतिउत्तर बहस गरेका थिए । २०७४ साल माघ ९ गते दुबईबाट आयात भएको साढे ३३ किलो सुन गायब भएको थियो । गायब सुन खोज्ने क्रममा चुणामणि उप्रेती गोरेसहितको समूहको यातना दिने क्रममा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ का सनम शाक्यको हत्या गरेको थियो । उनको हत्या अनुसन्धानका क्रममा सुन तस्करीको गिरोह पत्ता लागेको थियो ।

Advertisement

अनुसन्धानपछि २०७५ वैशाख १९ गते ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दायर भएको थियो । दुई वटा पूरक अभियोगसहित सो मुद्दामा ७७ जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीमध्ये २१ जना अझै फरार छन् । ५६ प्रतिवादीको तर्फबाट कानुन व्यावसायीले सात दिन बहस गरेका हुन् । सनम हत्याको प्रमाण र सुन तस्करीको विवरण पत्ता लागेपनि तस्करी गरिएको भनिएको सुन भने फेला पर्न सकेको छैन ।

Advertisement

६ जनाको पक्षमा बहस

आइतबार अदालतमा मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीसहित ६ जना प्रतिवादीको प्रतिरक्षामा दुई जना वरिष्ठ अधिवक्तासहित कानुन व्यवसायीहरुले बहस गरेका थिए । गोरेको पक्षमा अधिवक्ता गणेश भट्टराईले बहस गरे ।

व्यापारीको लगानी र प्रहरी अधिकारीसँगको ‘सेटिङ’मा गोरेको समूहले दुबईबाट नेपालतिर सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा करिब ३८ क्वीन्टल सुन तस्करी गरेको सरकारी पक्षको दावी छ । २०७४ साल माघ ९ गते गोरेको समूहले ल्याएको साढे ३३ किलो सुन गायब भएपछि २०७४ साल फागुन १८ गते करेन्ट लगाएर सनम हत्या भएको थियो । सनमको हत्या हुँदा उनलाई करेन्ट लगाएर यातना दिइरहेको भिडियो बाहिरिएको थियो । भिडियोमा सनम हत्यामा गोरेको संलग्नता देखिन्छ ।

हत्या गरेपछि एक रात धरानमा राखिएको सनमको शव भोलिपल्ट फागुन १९ गते विराटनगरबाट प्रहरीले शव बरामद भएको थियो ।

शाक्यको शव राखिएको बा १२ च ५९६३ नम्बरको र मे १ च ५३९८ नम्बरको कारसहित प्रहरीले त्यतिबेला मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई पक्राउ गरेको थियो । फरार रहेका गोरेलाई प्रहरीले २०७५ साल जेठ ९ गते मोरङ अदालतमा हाजिर गराएको थियो । अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएका उनी अहिले पनि कारागारमै छन् ।

आइतबार सनमको शव बरामद हुँदा पक्राउ परेका टेकराज मल्ल ठकुरीको पक्षमा आइतबार अधिवक्ता नारायणप्रसाद दाहालले बहस गरे । नेपाल प्रहरीका एसएसपी दिवेश लोहनीको पक्षमा वरिष्ठ अधिवक्ता सुशील पन्त र अधिवक्ताहरु रामचन्द्र सुवेदी एवं देवेन्द्र कोइरालाले बहस गरे ।

जिल्ला अदालत मोरङको आदेशबाट थुनामा पुगेका उनी उच्च अदालत विराटनगरको आदेशबाट छुटेका थिए । डीआईजीमा बढुवा भइसकेका लोहनी अहिले गण्डकी प्रदेश प्रहरी प्रमुख छन् ।

वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठ र अधिवक्ता रामचन्द्र गौतमले मुद्दाका प्रतिवादी डीएसपी प्रजित केसीको पक्षमा बहस गरे । सई बालकृष्ण सञ्जेलको पक्षमा अधिवक्ता आशिष अधिकारी र विनोद तिमल्सिनाले बहस गरे । मोरङ अदालतले केसी र सञ्जेल दुवै जनालाई थुनामा राख्न आदेश दिएको थियो । पछि उच्च अदालतको आदेशबाट उनीहरु छुटेका थिए ।

अधिवक्ता भरतबहादुर थापाले हरिशरण खड्काको पक्षमा बहस गरे । मोरङ अदालतको आदेशबाट थुनामा रहेका उनी अहिले कारागारमै छन् । अभियुक्तहरु कपिलराज पुरीको तर्फबाट अधिवक्ता भक्तिनाथ माझी र गोपालकुमार श्रेष्ठको तर्फबाट अधिवक्ता कृष्ण दाहालले बहस गरे ।

सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा सुन तस्करीको जालो भेटिएपछि छानबिनका लागि गृह मन्त्रालयका तत्कालिन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति बनाएको थियो । समितिको प्रतिवेदनका आधारमा ७७ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

मद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*