धनकुटामा पहिरोः घर पुरिँदा ६ जनाको मृत्यु

नवयुग संवाददाता
२०७८, ३ कार्तिक बुधबार १०:२३

फाइल तस्वीर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–१, बुधबारेस्थित गढेरीमा मंगलबार राति पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ ।

Advertisement

राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिरोले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिरोले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको र अरू ६ जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले बताए ।
घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नौ वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । घटनामा परी घाइते भएका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लीला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डीएसपी रायाले जानकारी दिए ।

Advertisement

गम्भीर घाइतेसहित अन्य घाइते ३३ वर्षीया उषा श्रेष्ठ, ११ वर्षीय सञ्जाल श्रेष्ठ र २८ वर्षीया चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि लैजान नेपाली सेनासँग समन्वय भइरहेको उनले बताए । घाइते हुनेमा भीमबहादुरको परिवारका सदस्य र आफन्त छन् ।

Advertisement

घाइतेको उद्धारका लागि लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा समस्या भएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि उनीहरूलाई लैजाने तयारी भइहेको प्रहरीले जनाएको छ । रासस

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*