तरकारी व्यापारले फेरिएको महिलाको जीवनस्तर
जनकपुरधाम– केही वर्षअघिसम्म गाउँको साहुमहाजनमा बनिबुतो गरी परिवारको गुजारा गर्दै आएकी सप्तरी डाँक्नेश्वरी नगरपालिका–१ कबिलासाकी सुर्तीदेवी सदालाई आजभोलि बजारमा तरकारी पुर्याउन भ्याननभ्याइ छ । सामान्य लेखपढ गर्नसमेत नजानेकी सुर्तिदेवीलाई अहिले बिहान हुने बित्तिकै तरकारी कहाँबाट खरिद गरेर ल्याउने र गाउँ नजिकैको सहरमा कतिबेला पुर्याउने भन्ने हतारो हुन्छ ।
दुई वर्षअघिसम्म रकमको अभावमा आयआर्जनको कुनै काम गर्न नसकेकी सदालाई अहिले भने तरकारी खरिद बिक्रीलाई आफ्नो आयआर्जनको राम्रो आधार बनाएकी छिन् । आयआर्जनको गतिलो आधारसँगै उनको जीवनमा परिवर्तन मात्र होइन् परिवारको पहिचानसमेत फेरिएको छ । आयआर्जनको ठोस् आधार नपाउँदा केही वर्षअघिसम्म गाउँकै साहुमहाजन कहाँ हरवा चरवाको रुपमा बनिबुतो गर्दै आएको विगतको अतित सम्झिँदै उनले भनिन्, ‘पहिले ज्याला मजदुरीमा सधैँ काम गरेर जीविकोपार्जन गरिरहेको थिएँ, बालबच्चालाई पालनपोषण गर्न धौधौ हुन्थ्यो ।’