‘ पुरानै शैलीमा तीज मनाउन चाहन्छिन् उमा ’

स्मिता अर्याल
२०८०, ३० भाद्र शनिबार १५:०२

Advertisement

मकवानपुर । हेटौंडा–८ कमानेकी उमा कुमारी घिमिरे उमेरले ५० वर्षको हुनुभयो । माइली नामले परिचित उमा घरमा गृहणीको रुपमा हुनुहुन्छ ।

Advertisement

चाडवाड नजिकिएसँगै उहाँको पनि व्यस्तता बढ्न थालेको छ । श्रीमान्, छोराछोरी, बुहारी, नातिनातिना र आफन्तसँग चाडवाड मनाउँदा रमाइलो हुने कुरामा उहाँ खुशी हुनुहुन्छ । त्यसैले, समय सापेक्ष तयारी गरिरहनुभएको छ ।

Advertisement

हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजमा उमा पनि ब्रत बस्नुहुन्छ । तर, उहाँलाई अहिलेको तीज मनाउने शैली भने मन परेको छैन् । विगतमा तीज पर्व मनाएका क्षणलाई स्मरण गर्दै उहाँ भन्नुहुन्छ, ‘ ऊबेला हामी दुःखसँगै रमाउँथ्यौँ, अहिले त तीजको नाममा विकृती देखिन थाल्यो । ’

Advertisement

२०४८ सालदेखिका तीजहरु उहाँको सम्झनामा ताजै छ । उहाँ त्यतिबेला १८ बर्षको हुनुहुन्थ्यो । साथीसंगी, दिदीबहिनीहरुसँग विभिन्न संघ–समूहले आयोजना गर्ने तीज विशेष कार्यक्रममा सहभागी हुन दिनगन्ती गरेर बस्नुहुन्थ्यो । तीज विशेष कार्यक्रममा भाग लिन १५–२० दिन अघि नै आफ्नो समूहको नाम टिपाउने, गीतहरु तयार गर्ने काममा व्यस्तता रहन्थ्यो ।
पञ्चमीसम्म पुग्ने घाँस काट्न चटारो हुने गथर््यो । दर खाने दिनको दिउँसोसम्म माईली(उमा)ले गोठभरी घाँसको भारी राख्नुहुन्थ्यो । घरै छेउमा माइती थियो, माइत जान सजिलो थियो । त्यतिबेला दरमा खीर , अचार खाने चलन थियो । अहिले १ महिना अघि दरको नाम दिएर खाइने भोजहरुले बर्षमा एकदिन खाइने खीरको ठाउँ लिन नसक्ने उहाँको भनाई छ ।
‘त्यतिबेला हामीलाई तीज भनेको दुःख वेदना पोख्ने दिन जस्तो लाग्थ्यो । समयनै त्यस्तै थियो । हामी अहिलेको दिदीबहिनीहरु जत्तिको बाठा थिएनौँ । बर्षभरीका पिर मर्कालाई पोख्न हामी तीजलाई कुरेर बस्थ्यौँ’, उहाँ सम्झनुहुन्छ । ‘साथीहरुसँग तीजको दिन घरदेखि कपडा उद्योगको बाटो हुदैं हेटौंडा–४ स्थित भुवनेश्वर (पशुपति) मन्दिर नाच्दै गीत गाउँदै पुगिन्थ्यो । त्यहाँ सबैजना भेला भएपछि कार्यक्रम सुरु हुन्थ्यो र आफ्नो पालो आएपछि उठेर गीत गाउने नाच्ने गरिन्थ्यो । खुबै रमाइलो लाग्थ्यो । ’, उहाँले अघि भन्नुभयो ।

‘‘ रानी चरी हरर ऐँसेलुको गाँजैमा , मलाइ सम्झी नरौ आमा झम्के साँझैमा ,
घ्यू भरेर राख आमा फुल भरेको टिनमा ,बाँचे भेट होला आमा बर्ष दिनमा
असली त असली मेरै सासु असली , दुवै मुठ्ठी कनिका बल्ल बसाली,
दुबै मुठी कनिका मा दुबै माना पानी, हातैमा आउदैन मैले के खानी ’’

यस्ता गीतसँग रम्नुहुन्थ्यो उमा र उहाँका साथीहरु । अहिलेका गीतहरु छाडा आउन थालेकोमा उहाँ खुशी देखिनुहुन्न । गीतको नाममा छाडा संस्कृतिले प्रवेश पाएको उहाँ बताउनुहुन्छ ।

‘अहिले माइतीमा आमा नभएपनि भाइबुहारी, दिदीबहिनीहरुसँग भेट हुन्छ । बहिनीहरुलाई एकैछिन भएपनि हामीले पहिले गाउने गरेको पुरानो गीतहरु सुन्न मनपर्छ । म भाका निकाल्छु उनीहरु थपिदिन्छन् । अहिले कैयौँ वर्षपछि बर्षमा एकदिन एकैछिन भएपनि तीजका मौलिक गीतहरु गाउन पाउँदा साह्रै आनन्द लाग्छ । अब त कापीका पानामा लेखेर गाएका ती दिनहरु, ती साथीहरु, त्यतिबेलाको रमाइलापन कहिले फर्केर आउँदैन होला ।’ उहाँ भन्नुहुन्छ ।

‘पहिलेको समयमा आत्मनिर्भर नभएका महिला दिदीबहिनीहरु वर्षमा एकदिन भएपनि स्वतन्त्र भएर बोल्न पाउने कुराले उमालाई अहिले पनि खुशी दिन्छ । ‘छोरीचेली आउँदा दरमा के खुवाउने हो भन्दै आमाबुवाले मीठोमसिनो जोहो गरेर खुवाउनुहुन्थ्यो । पञ्चमी नुहाएर आएपछि हलोले छोएको खान हुदैन भनेर कर्कलो पकाएर खाने परम्परा थियो । प्रविधिको विकास नहुँदा त्यो समयमा समूहमा भेला भएर मुखैले कथाव्यथा पोखिन्थ्यो । घासँदाउरा, चुल्होचौकामा भुलिएका महिलाहरुले एकदिन भएपनि छुट्टी पाउने गर्थे । ’
संस्कृतिको संरक्षण गर्ने कुरामा ध्यान नदिँदा विकृति फैलिएको चिन्ता उमा जस्तै धेरै महिलाहरुमा छ । महिनौँ अघिदेखि दर खाने नाममा साथीसंगी–आफन्त भेला हुनु त राम्रो हो, तर पुरानो चलन, संस्कृतिलाई पनि सँगसँगै अँगाल्ने कुरामा चासो दिने हो भने, नयाँ पुस्ताले तीजजस्ता मुख्य चाडपर्वहरुको महत्व अझै राम्रोसँग बुझ्न पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*