एकदिवसीय वरीयतामा विराट कोहली तेस्रो स्थानमा उक्लिए, बलिङतर्फ केशव महाराज शीर्ष स्थानमा
काठमाण्डौ। भारतका स्टार ब्याटर विराट कोहलीले आईसीसी एकदिवसीयको ब्याटिङ वरीयतामा एक स्थान सुधार गरेका छन् ।
आईसीसीको पछिल्लो वरीयतामा कोहली चौथो स्थानबाट एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका छन् । भर्खरै सकिएको एकदिवसीय विश्वकप क्रिकेटमा ७ सय ६५ रन बनाउँदै कोहली प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका थिए ।
एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा रहेका भारतकै ओपनर ब्याटर शुभमन गिल शीर्ष स्थानमै छन् । गिलको रेटिङ प्वाइन्ट ८२६ छ भने कोहलीको रेटिङ प्वाइन्ट ७९१ छ । योसँगै कोहली फेरि एक पटक एकदिवसीय वरीयताको शीर्ष स्थानमा पुग्ने सम्भावना बलियो भएको आईसीसीले जनाएको छ ।
एकदिवसीय वरीयताको दोस्रो स्थानमा पाकिस्तानका बाबर आजम यथावत् छन् । भारतीय टिमका कप्तान एक स्थान सुधार गर्दै वरीयताको चौथो स्थानमा छन् । पाँचौँ स्थानमा दक्षिण अफ्रिकाका क्विन्टन डी कक छन् ।
एकदिवसीय बलिङ वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज उक्लिएका छन् । भारतका मोहम्मद सिराजलाई पछि पार्दै महाराज शीर्ष स्थानमा पुगेको हुन् ।
एकदिवसीय बलिङ वरीयताको दोस्रो स्थानमा अस्ट्रेलियाका जोश हेजलवूड, तेस्रो स्थानमा मोहम्मद सिराज, चौथो स्थानमा भारतका जसप्रीत बुमराह र पाँचौँ स्थानमा अस्ट्रेलियाका एडम जाम्पा छन् ।