नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेशको प्रथम अधिवेशन भोलि
मकवानपुर । (भोलि) मंसिर २२ र २३ गते बागमती प्रदेशको राजधानी हेटौंडामा हुन गैरहेको नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश प्रथम अधिवेशनको तयारी पुरा भएको छ ।
हेटौंडा –४ स्थित रोयल पार्टी प्यालेसमा हुने प्रथम ऐतिहासिक अधिवेशनमा राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय समिती अध्यक्ष विष्णु भण्डारीको प्रमुख आतिथ्यता रहनेछ ।
अधिवेशनमा भोलि २२ गते बिहान ११ बजे उद्घाटन सत्र पछि बन्द सत्र हुनेछ भने, पर्सि २३ गते नयाँ पदाधिकारीसहित हेटौंडा घोषणा पत्र जारी गर्दै कार्यक्रमको समापन हुने बागमती प्रदेश नेपाल राष्ट्रिय शिक्षक संगठन बागमतीका अध्यक्ष निर बहादुर कार्कीले जानकारी दिनुभयो ।‘‘ नयाँ पदाधिकारी चयनका लागि निर्वाचन समिती गठन भैसकेको छ । ३५ सदस्यीय बागमती प्रदेश समिति र ३ जना केन्द्रिय प्रतिनिधि निर्वाचित हुनेछन् । ’’ उहाँले बताउनुभयो । साथै, बागमती प्रदेशको १३ वटा जिल्लाका ६ सय प्रतिनिधि सहभागी हुने उहाँले जानकारी दिनुभयो ।
काठमाडौंको दरवार स्कुलमा गत कार्तिक १४ गते बसेको प्रदेश समितिको विस्तारित बैठकले प्रदेश अन्तर्गत रहेका १३ जिल्लामध्ये प्रदेशको समेत राजधानी हेटौंडा भएकोले मकवानपुर जिल्लामा अधिवेशन गर्ने निर्णय गरेको थियो ।
अधिवेशन कार्यतालिकाको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बागमती प्रदेश नेपाल राष्ट्रिय शिक्षक संगठन बागमतीका अध्यक्ष निर बहादुर कार्की,सचिव राजेन्द्र कुमार श्रेष्ठ ,वरिष्ठ उपाध्यक्ष सुरेश फुँयाल ,उपाध्यक्ष सानू माया खड्का,लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।