तनहुँमा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । तनहुँमा बोलेरो दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य १६ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका-६ का ७२ वर्षीय आशवीर गुरुङ र ब्यास नगरपालिका-९ गजौडी १७ वर्षीया तुलसी गुरुङ रहेका छन् ।
मिर्लुङबाट छापस्वारातर्फ जन्ती लिएर जाँदै गरको बा१८च ५९२१ नम्बरको बोलेरो आबुखैरेनी गाउँपालिका-१ थिराउनचौरस्थित बरादी हिलेखर्क भित्री सडकखण्डमा सोमबार बिहान राति साढे १२ बजे दुर्घटनामा परेको हो ।
बोलेरो अनियन्त्रित भएर सडकबाट करिब ५०० मिटर तल खसेको तनहुँ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए ।
दुर्घटनामा आशवीरको घटनास्थलमै मृत्यु भएको थियो। तुलसीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा ३:४० बजे मृत्यु भएको खाणले बताए ।
दुर्घटनामा चालकसहित १६ जना घाइते छन्। घाइते हुनेमा आबुखैरेनी गाउँपालाक-६ की १५ वर्षीया सुविना गुरुङ, ६७ वर्षीया मनबहादुर गुरुङ, ३८ वर्षीया सुकमाया गुरुङ, ६ वर्षीया एलिसा गुरुङ, १९ वर्षीया सविता गुरुङ र बन्दीपुर गाउँपालिका-३ सुखौराका १० वर्षीय शिशिर गुरुङ रहेका छन्। उनीहरूको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
चालक आबुखैरेनी-१ गिराउनचौरका ३८ वर्षीय राजकुमार विश्वकर्मा, आबुखैरेनी-६ का ५६ वर्षीय सोमलाल गुरुङ, ७० वर्षीय भक्कुलाल गुरुङ, ५६ वर्षीय शेरबहादुर गुरुङ, ३६ वर्षीया आशमाया गुरुङ, १० वर्षीया दीक्षा गुरुङ, ५२ वर्षीय सेते गुरुङ, ३७ वर्षीया सुनिता गुरुङ र १८ महिने बालक सुसान गुरुङ रहेका छन् ।
उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको खाणले बताए ।