उद्यमी महिलाहरुलाई अझै चुनौती छ : मन्त्री मोक्तान
मकवानपुर । सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्यमी बन्नु आफैमा चुनौतीपूर्ण कुरा रहेको बताउनुभएको छ ।
आज हेटौंडामा आयोजित बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलनमा प्रमुख अतिथिको मन्तव्य राख्दै उहाँले महिलाहरुलाई अझैपनि घरपरिवार र समाजमा बुझ्न र उद्यम गर्ने वातावरण बनाउन असहज हुने गरेको बताउनुभयो ।
महिलाहरुलाई सफल उद्यमी बनाउनका लागि बागमती प्रदेश सरकारले गृहिणी महिला कार्यक्रमसमेत सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । उद्यमी बन्नका लागि आर्थिक जोहो देखि अन्य समस्यामा महिलाहरु अझै रुमलिरहनुपरेको उहाँको भनाई थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमतीका अध्यक्ष दिलसुन्दर श्रेष्ठले साना उद्यमीहरुको सम्मान गर्दे उनीहरुको उद्यमलाई बजारीकरण गर्न ठुला उद्यमीहरुको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
महिला उद्यमीहरुलाई प्रोत्साहन गर्दै उद्योग वाणिज्य महासंघ महिलाहरुको क्षमता विकासमा सधैं अग्रसर रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘महिलाहरु चुल्हा चौका छाडेर आफ्नो सीप विकास र प्रदर्शनमा अघि बढ्नुपर्छ’ उहाँले बताउनुभयो ।
त्यस्तै हेटौंडा उपमहानगरपालिकाकि मेयर मीना कुमारी लामाले ठुलो लगानीमा उद्यम गर्ने सोच राख्नु भन्दापनि दैनिक जीवनमा आवश्यक वस्तुहरुको उत्पादनमा बढवा दिए उद्यमी जिवनमा सफलता पाईने कुरामा समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मुक्तान, उद्योग वाणिज्य भूमी तथा प्रशासन मन्त्रालय बागमतीका सचीव राजेन्द्र कुमार के.सी, हेटौंडा उपमहानगरकी प्रमुख मीना कुमारी लामा, सामाजिक विकास मन्त्रालय बागमतीकी महिला विकास अधिकृत चन्दा कुमारी व्यञ्जनकार, नेपाल उद्योग वाणिज्य महासंघकी कार्यकारीणि सदस्य तथा महिला उद्यमी विकास समितिकि सभापति कमला श्रेष्ठ लगाएत प्रदेशका १३ वटा जिल्लाका उद्यमीहरुको सहभागिता रहेको थियो ।