‘एमसीसी’ अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि पुनः ठेक्का आह्वान

नवयुग संवाददाता
२०८१, १२ मंसिर बुधबार १३:२३

Advertisement

काठमाडौं । अमेरिकी सहयोग एमसीसी परियोजना अन्तर्गत निर्माण हुने २ सय ९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः ठेक्का आह्वान भएको छ । यसअघि आह्वान भएको ठेक्कामा केही प्रक्रिया नमिलेको भनेर आलोचना भएपछि मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले पुनः ठेक्का आह्वान गरेको हो ।

Advertisement

लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे–नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीन वटा खण्डमा विभाजन गरिएको प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा आउँदो माघ १७ गतेका लागि तोकिएको एमसीए नेपालले जनाएको छ ।

Advertisement

अहिलेको ठेक्कामा परिमार्जित डिजाइन, टावर निर्माण स्थलमा सहज पहुँच र बोलपत्रदाताहरूको सुझावका आधारमा संशोधित व्यावसायिक प्रावधानहरू समावेश छन्  । यसले गर्दा काम प्रभावकारी हुने एमसीए नेपालले जनाएको छ ।

Advertisement

एमसीए नेपालले बुटवल–गोरखपुर प्रसारण लाइनअन्तर्गत नेपालमा पर्ने १८ किमी प्रसारण लाइन निर्माणका लागि १ करोड २३ लाख ६० हजार अमेरिकी डलरमा ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ठेक्का सम्झौता गरिसकेको छ ।

एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि बोलपत्रदाताहरूको अभिरुचि उल्लेख्य रूपमा बढ्ने र प्रतिस्पर्धात्मक बोलपत्रहरू आकर्षित हुनेमा विश्वस्त रहेको बताउनुभएको छ ।

एमसीए नेपालले ४ सय केभी क्षमताका तीन वटा सबस्टेशन निर्माणका लागि पनि ठेक्का लगाइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*