नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताउनुभएको छ ।
सातदोबाटोमा रहेको बोर्डको कार्यालयमा आज कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको धेरै काम अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताउनुभएको हो । उहाँले धितोपत्र बोर्ड अध्यक्षविहीन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारीमा आफू आएको भन्दै बोर्डमा ठूलो जिम्मेवारी र चुनौतीहरू रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष श्रेष्ठले पूँजीबजार (शेयर बजार) मा रहेका समस्याको समाधानका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । शेयर बजारले देशको अर्थतन्त्रमा गर्ने योगदान धेरै रहेको भन्दै उहाँले त्यसको सदुपयोग गर्र्न कोशिश गर्ने बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले लामो समयदेखि रोकिएको आईपीओ निष्काशन चाँडै शुरू हुने पनि बताउनुभयो । उहाँले एभरेष्ट बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिने पहिलो निर्णय गर्नुभएको छ ।