काम मिलाइदिन्छु भन्दै यात्रुलाई दुःख दिने १८ जना बिचौलिया पक्राउ
काठमाडौं । पर्साको बसपार्क क्षेत्र तथा यातायात कार्यालयमा यात्रुहरूलाई दुःख हैरानी दिने १८ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–१६ बसपार्क क्षेत्रमा यात्रुहरूलाई दुःख हैरानी दिने तथा यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गराइदिन्छु भनी पैसाको मोलमोलाइ गर्ने, कार्यालय परिसरमा अनधिकृत रूपमा प्रवेश गरी काम मिलाइदिन्छु भनी प्रलोभनमा पारी कानून विपरीत अत्यधिक सेवा शुल्क लिने १८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ पर्नेमा सबैभन्दा धेरै पर्साका १५ जना छन् । यस्तै रौतहट, गोरखा र भारतको बिहारका एक/एक जना रहेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताउनुभयो । उनीहरूमाथि शान्तिविरुद्धको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।