चलचित्र पत्रकार संघ नेपालद्वारा १३ बुँदे चितवन घोषणा–पत्र जारी

नवयुग संवाददाता
२०८१, १४ पुष आईतवार १३:४८

Advertisement

चितवन– चलचित्र पत्रकार संघ नेपालको चितवनमा सम्पन्न पाँचौ पूर्ण बैठकले १३ बुँदे चितवन घोषणा–पत्र जारी गरेको छ । घोषणा पत्रमा चलचित्र पत्रकार तथा चलचित्र पत्रकारिता क्षेत्रलाई व्यवसायिक बनाउनेसहितका विषयहरु समेटिएका छन् ।

Advertisement

चलचित्र पत्रकार संघ नेपालले चितवनमा सल्लाहकार समिति, पूर्व अध्यक्षहरू, सबै विभाग तथा जिल्ला अध्यक्षहरूसहितको तीन दिने पूर्ण बैठक सञ्चालन गरेको थियो । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीले आवश्यक रहेका विभिन्न विभागहरूको गठन गर्ने तथा विभागहरूमा सबैलाई समेटेर लैजाने र सबैको सरसल्लाहबाट विभिन्न प्रस्तावहरुलाई सामूहिकतामा निर्णय गर्दै चलचित्र पत्रकार संघलाई अझ अगाडि बढाउने ढंगले यो अभियानको थालनी गरिएको बताएका छन् ।

Advertisement

बैठकपछि जारी गरिएको घोषणा–पत्रको तयारी समिति संयोजकमा पत्रकार डब्बु क्षेत्री रहेका छन् । उनलाई विभिन्न सदस्यहरुले घोषणा–पत्र तयार पार्न सहयोग गरेका छन् ।

Advertisement

यस्तो त घोषणा–पत्र

१. चलचित्र पत्रकारहरूको हक र अधिकारको संरक्षणका लागि संघ गोलबद्ध भएर अघि बढ्ने निर्णय गरियो । यसले पत्रकारहरूको व्यावसायिक मान्यता र सुरक्षा सुनिश्चित गर्नेछ । साथै चलचित्र पत्रकारका लागि कार्यशाला, गोष्ठी, अध्ययन भ्रमण र तालिमहरूको व्यवस्थापनका लागि सहकार्य, सहयोग र आयोजना गर्न सम्बन्धित पक्षसँग यो बैठक माग गर्दछ ।

२. चलचित्र पत्रकारिता पेशामा जिम्मेवारिता र प्रोत्साहन बढाउन, चलचित्र पत्रकारिता पुरस्कार र सम्मान कोषको स्थापना गरिएको छ । साथै संघको कोषको सहयोगार्थ च्यारिटी कार्यक्रमहरूको आयोजना गर्ने र कोषमा सहयोग गर्न सबै पक्षसँग संघ अपिल गर्दछ ।

३. विधागत पत्रकारितामा विभिन्न समस्या, चुनौती र सम्भावना उत्तिकै रूपमा देखिएको छ । पछिल्लो समय चलचित्र पत्रकारितामा देखिएको विकृति र विसंगतिलाई हटाउँदै मर्यादित र जिम्मेवार रूपमा व्यवसायिक पत्रकारिता गर्न यो बैठक सम्पूर्ण चलचित्र पत्रकारहरूमा अनुरोध गर्दछ ।

४. बिट पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवर्द्धनका लागि विशेष योजना बनाई कार्यान्वयन गर्न यो बैठक सम्बन्धित निकायसँग माग गर्दछ ।

५. अनलाईन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोक कल्याणकारी विज्ञापनले समेट्न यो बैठक माग गर्दछ । साथै चलचित्र पत्रकारिता मात्रै गर्ने स्वरोजगारमूलक मिडियाहरूलाई चलचित्र विकास बोर्डले समन्वय र सहकार्य गरी संरक्षण गर्न यो बैठक चलचित्र विकास बोर्डसँग माग गर्दछ ।

६. स्वायत्त चलचित्र उद्योग र नेपाली चलचित्रको विकास र प्रवर्द्धनका लागि २०२६ सालको ऐनलाई प्रतिस्थापन गर्न बनेको प्रस्तावित चलचित्र ऐन सबै स्टेकहोल्डरलाई प्रभावकारी हुनेगरी तत्काल ल्याउन यो बैठक नेपाल सरकार समक्ष माग गर्दछ

७. सिनेमा पर्यटन प्रवर्धनको मुख्य आधार हो । यसर्थ नेपाली सिनेमाको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रमहरू तय गर्न यो बैठक सबै तहका सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछ।

८. नेपाली कला, संस्कृति र पहिचानसहितको मौलिक चलचित्र तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिनिधित्व गर्ने नेपाली चलचित्र वा चलचित्रकर्मी र महोत्सवहरुमा जाने चलचित्र तथा चलचित्रकर्मीलाई प्रोत्साहन, प्रवर्धन तथा प्रचार प्रसार गर्न यो बैठक सम्बन्धीत निकायसँग माग गर्दछ ।

९. श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि यो भेला माग गर्दछ ।

१०. चलचित्र पत्रकार संघ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकममा वृद्धि गर्दै उपलब्ध गराउन सञ्चार मन्त्रालयसहित केन्द्रीय, प्रदेश तथा स्थानीय सरकार र सम्बन्धित पक्षसँग यो बैठक माग गर्दछ ।

११. नेपाली चलचित्रको समस्याको रूपमा रहेको रियल टाइम बक्स अफिसलाई पूर्णरूपमा कार्यान्वयन गर्न यो बैठक माग गर्दछ । साथै बक्स अफिस रिपोर्टलाई सूचनाको हक अनुसार सार्वजनिक गर्न पनि अनुरोध गर्दछ ।

१२. चितवनको विभिन्न पर्यटकीय क्षेत्र सुन्दर नगरीहरूको प्रवर्द्धनका लागि नेपाली सिनेमा मार्फत प्रस्तुत गर्न तिनै तहका सरकारले सिनेमा पर्यटनका कार्यक्रमहरूलाई अगाडि सार्न यो बैठक माग गर्दछ । साथै सिनेमा पर्यटनको प्रवर्द्धनका लागि स्थानीय सरकारहरूलाई नेपाली चलचित्रको छायांकनका लागि सहुलियत प्रदान गर्न यो बैठक माग गर्दछ ।

१३. संघको पाँचौं पूर्ण बैठक तथा शाखा अध्यक्षहरूको भेला सम्पन्न गर्न सहयोग र संयोजन गर्नु हुने चलचित्र पत्रकार संघ नेपाल चितवन शाखा लगायत सम्पूर्ण संघ संस्था र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*