अटिजम भएका बालबालिकाको हेरचाह निर्देशिका तयार पार्ने मन्त्री पौडेलको निर्णय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने निर्णय गरेका छन्। नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढेको भन्दै उनले बढ्दो स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि मन्त्रालयले काम थाल्ने बताएका हुन्।
अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य संस्थाहरूमा प्रभावकारी काम गर्नका लागि भन्दै मन्त्री पौडेलले सर्वप्रथम रोकथाम, उपचार, हेरविचार तथा सहयोगजस्ता विषय समेटेर निर्देशिका बनाउने निर्णय गरेका छन्। यसका लागि डाक्टर दीपकप्रकाश महराको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ।
समितिमा दीपकराज सापकोटा, डाक्टर सुनिता मलेकु, डाक्टर मेरिना श्रेष्ठ, डाक्टर अरुण कुँवर सदस्य छन्। यसैगरी, ध्रुवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रतिनिधिलाई सदस्य तथा मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ।
नेपालको जनगणना २०७८ अनुसार अटिजम भएका व्यक्तिहरूको संख्या ४ हजार ८८४ देखिन्छ। तर, विश्व स्वास्थ्य संगठनले भने नेपालमा झण्डै तीन लाखमा यस्तो समस्या रहेको अनुमान गरेको छ।