कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी तीब्र
काठमाडौं । आउँदो चैत अन्तिम हप्तादेखि कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी तीब्र पारिएको छ । मंसिरमा हुने भनिएको प्रतियोगिताको नयाँ मिति तोकिएपछि तयारीलाई तीब्र पारिएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आउँदो चैत २३ गतेदेखि ३० गतेसम्म सुर्खेतमा आयोजना हुने प्रतियोगिताको तयारीलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभएको छ । प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगरमा मुख्य रङ्गशाला तयार गरिरहेको छ ।
खेलकुद प्रतियोगिता हुने क्षेत्रसम्मको सडक पूर्वाधार, मर्मत र रङ्गरोगन, खानेपानी तथा आवासको व्यवस्थापनलगायतका काम भइरहेका छन् । राखेपका सदस्य–सचिव घिसिङले पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले गरिरहेका कामको प्रशंसा गर्नुभयो । पूर्वाधार निर्माणमा कर्णाली प्रदेश सरकारले गरेको लगानी र कामको अवस्थाले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा हुँदैन कि भन्ने संशय लिनुपर्ने अवस्था नरहेको पनि उहाँको भनाइ छ ।
सदस्य सचिव घिसिङका अनुसार प्रतियोगितामा समावेश हुने ३६ खेलमा २४ खेल कर्णालीमा खेलाइने र उद्घाटनपूर्व पनि केही खेल सञ्चालन गरिनेछन् । उहाँले नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक ६० करोड रुपैयाँ बजेट छुट्याएको र यसबाट खेलाडीलाई राहत हुनेगरी काम गरिने बताउनुभयो । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आयोजकको तयारी र योजनाअनुसार आफूहरू समयमै प्रतियोगिता हुनेगरी काममा लागि परेको बताउनुभयो ।