चितवनको पूर्वी सिमसार क्षेत्रमा ५५ प्रजातिका चरा भेटिए
चितवन – चितवनको पूर्वी सिमसार क्षेत्रमा गरिएको गणनामा यसवर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटी र नेपाल पंछीविद् सङ्घको आयोजनामा गएको पुस २२ र २३ मा चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा चरा गणना गरिएको थियो । गएको वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यस पटक भेटिएका छन् ।
बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु बिडारीका अनुसार यसपालि कालो टाउके गङ्गाचिल र राजा गङ्गाचिल देखिएका हुन् । अन्य गएको वर्ष भेटिएका सबै प्रजातिका चरा यसपालि पनि भेटिएका उहाँको भनाइ छ । गएको वर्ष ५३ प्रजातिका चरा देखिएका थिए । यस वर्ष लोथरबाट दरै बोटेताल, गैडहवा (जिन्दगानी घाट)बाट सौराहाघाट, सौराहाघाटबाट कसरा पुल, तमोर ताल, लामी ताल, बीस हजार ताल र यससँग सम्बन्धित ताल भण्डारा माछापोखरी, बुढी राप्ती ढुङ्गरे खोला, पटना ताललगायत पूर्वी चितवनको सिमसारमा गणना गरिएको थियो ।
बिडारीले दुई दिन भएको गणनामा सात हजार एक सय ५० चरा समावेश भएको जानकारी दिनुभयो । तीमध्ये चार हजार एक सय सात चखेवाचखेवी रहेको उहाँले बताउनुभयो । अघिल्लो वर्ष सात हजार पाँच सय १७ चरा समावेश भएका थिए ।
अघिल्लो वर्षभन्दा चखेवाचखेवीको सङ्ख्या घटेको हो । अघिल्लो वर्ष चार हजार तीन सय चार भेटिएको उहाँले बताउनुभयो । सौराहाघाटबाट कसराघाटसम्म ४१ प्रजाति भेटिएका छन् । यस्तै लोथरबाट जिन्दगानी घाटसम्म दुई, जिन्दगानी घाटबाट सौराहाघाटसम्म २५, बीस हजार तालमा ३०, बुढीराप्तीमा २६, ढुङ्गरे खोलामा २४, मत्यविकास केन्द्रमा १८, लामी तालमा १६, पटना तालमा १२ र तमोर तालमा चार प्रजातिका चरा भेटिएको उहाँले बताउनुभयो ।
सात हजार एक सय ५० चरा समावेश हुँदा पनि हाँसमात्र चार हजार एक सय सातवटा समावेश भएको उहाँले बताउनुभयो । जलकौवा सानु एक सय १७ र ठूलो चार सय ६० वटा गणनामा समावेश भएका छन् । बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्षसमेत रहेका बिडारीले प्रदूषण, नदीजन्य पदार्थ उत्खनन र बढ्दो मानवीय चहलपहलका कारण जलपन्छीको सङ्ख्या घट्दै गएको बताउनुभयो । प्रदूषण कम भएको क्षेत्रमा तुलनात्मक रूपमा धेरै चरा र वन्यजन्तु भेटिएको उहाँको भनाइ छ ।
सोसाइटीले सन् १९८७ देखि चरा गणना गर्दै आएको छ । नेपाललगायत पूर्वी एशियाका ३५ देशमा हरेक अङ्ग्रेजी वर्षको जनवरीमा पानी चरा गणना गरिँदै आएको छ । सोसाइटीले यसपाली जाडो यामका पानीचरा गणना गरेको हो । चितवनमा छ सय ५२ प्रजाति चरा पाइने उहाँले बताउनुभयो । त्यसमध्ये यसवर्ष चितवनमा एक सय ५९ प्रजाति भेटिए । पानीमा मात्र आश्रित ५५ प्रजाति रहेको उहाँले बताउनुभयो ।