सडकमा सवारी आवागमन सहज बनाउन गृहमन्त्रीको निर्देशन

नवयुग संवाददाता
१० आश्विन २०७६, शुक्रबार १९:००

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले नौबिसे–कलङ्की सडकखण्डमा भइरहेको सवारी जाम हटाई आवागमन सहज बनाउन निर्देशन दिनुभएको छ । चाडबाड नजिकिँदै जाँदा ट्राफिक जाम अत्यधिक बढेको जनगुनासो आएको भन्दै उहाँले तत्काल जनताले महसुस हुने गरी जाम हटाउन सम्बद्ध पक्षलाई आज निर्देशन दिनुभएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकाललाई आज मन्त्रालयमा बोलाएर उहाँले यातायात आवागमन सहज बनाउने निर्देशन दिनुभयो ।

उहाँले जाम भएका क्षेत्रमा ट्राफिक प्रहरीको जनशक्ति बढाउन, व्यस्त समयमा ठूला सवारीसाधनको आवागमनमा रोक लगाउन, बिग्रिएका सवारीसाधन हटाउन आवश्यक क्रेनको व्यवस्था मिलाउन पनि भन्नुभएको छ ।

जाममा परेका बिरामीको आवश्यकताअनुसार उद्धारका सबै उपाय अपनाउन आग्रह गर्दै चाडपर्वको मौका छोपी हुनसक्ने कालोबजारी तथा यात्रुलाई आवश्यक टिकट वितरणमा समेत उहाँले ध्यानाकर्षण गराउनुभयो ।

उहाँले सडक सुरक्षा तथा मर्मतका सम्बन्धमा भौतिक पूर्वाधार मन्त्रालयसँग समेत समन्वय भइरहेको जानकारी दिनुभयो । बैठकमा सरकारी अधिकारीले बिहीबारको जामको तुलनामा आज केही सहज रहेको जानकारी गराएका थिए । गृह मन्त्रालयले धादिङका सम्बन्धित सरकारी अधिकारीलाई समेत जाम खुलाउन आवश्यक पहल गर्न आजै निर्देशन दिएको छ ।रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*