हेटौंडामा अझै तुइनको भर

नवयुग संवाददाता
२०७६, १६ आश्विन बिहीबार ०८:४१

हेटौंडा–१ स्थित लालझाडीका तुइनबाट खोला तर्दै स्थानीय । तस्बिरः सुवास/कान्तिपुर

मकवानपुर । हेटौंडा बजारबाट दुई किलोमिटर दूरीमा पर्छ लालझाडी–मैनटार । हेटौंडा उपमहानगरपालिका–१ मा रहेको उक्त क्षेत्रका स्थानीयहरू पक्की पुल नहुँदा अझै पनि तुइनको सहाराबाट राप्ती खोला तर्ने गरेका छन् । वर्षौं भयो यहाँका स्थानीयले पक्की पुलको माग सरकारसँग गरेको तर कतैबाट सुनुवाइ भएको छैन । प्रधानमन्त्री केपी ओली पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री हुँदा २ वर्षभित्र देशभर रहेका तुइन विस्थापित गर्ने पहिलो निर्णय गरेपछि पुल बन्छ कि भन्ने आशा पलाएको स्थानीयले अहिले त्यो आशा मारिसकेका छन् ।

Advertisement

‘तुइन हटेर पुल बन्छ भनेर हल्ला भएको चार वर्ष बितिसक्दा पनि कुनै सुरसार छैन । अहिले हेटौंडा प्रदेश ३ को राजधानीसमेत भइसकेको छ । अझै पनि हामी वर्षात्को समयमा तुइनको सहाराले र हिउँदमा साँगोबाटो खोला तरिरहेका छौं,’ स्थानीय अमित देवाकोटाले भने । वर्षको चार महिना तुइनबाटै स्थानीयबासी आउजाउ गर्ने गरेको उनले बताए । हेटौंडा सिमेन्ट उद्योगले २०४८ सालमा आफ्नो स्टेसनमा आउजाउ गर्न सहजताका लागि बनाएको तुइन अझैसम्म स्थानीयले प्रयोग गरिरहेका हुन् ।

Advertisement

बर्सेनि तुइनको मर्मत सिमेन्ट उद्योगले नै गर्ने गरेको छ । यस क्षेत्रका करिब दुई सय परिवारले तुइन प्रयोग गर्दै आएको उनले बताए । तुइनबाट हेटौंडा–१ मैनटारसँगै, नकौली र लालझाडीका स्थानीयहरू यात्रा गर्छन् । मैनटारसँगै जोडिएको लालझाडीमा सरकारले २०६७ सालमा झोलुङ्गे पुल निर्माण गरेको थियो । झोलुङ्गे पुल अपायक स्थानमा बनेपछि स्थानीयले बीच गाउँबाट पुल निर्माणको माग गरिरहेका छन् । ‘झोलुङ्गे पुल पुग्नलाई आधा घण्टाभन्दा बढी समय लाग्छ । तुइनबाट पाँच मिनेट पनि लाग्दैन हाइवेमा पुग्न,’ स्थानीय विष्णुप्रसाद अधिकारीले भने । उनले तुइनका कारण बर्सेनि धेरेको हातको औंला छिन्ने गरेको बताए । ‘तुइन चलाउन नजान्दा धेरेको हातको औंलासमेत छिनेको छ,’ ५५ वर्षीय उनले खोला तर्ने क्रममा बगाएरसमेत स्थानीयको समेत मृत्यु भएको स्मरण गरे ।

Advertisement

यहाँका स्थानीयहरू विशेष गरी पशुपालन गर्ने गरेका छन् । बिहान र साँझ विद्यालय, कार्यालय तथा दूध बिक्री गर्न आउजाउ गर्दा तुइनमा सामरी र कुलेखानी मिसिएर बनेको राप्ती खोला तर्नेको भीड नै लाग्ने गर्दछ ।

Advertisement

महिला, वृद्धवृद्धा तथा बालबालिकालाई भने अरूको सहारामा तुइनमार्फत् आउजाउ गर्नुपर्ने बाध्यता रहेको स्थानीय मैनटार टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिनाले बताए । ‘धेरै पटक तुइन हटाउन पर्‍यो भनेर सरकारी कर्मचारीहरू आएका थिए । तर, हामीले विकल्प नभएसम्म हटाउन दिँदैनौं भन्यौ । अर्को व्यवस्था नगरी तुइन हटायो भने गाउँलेलाई झन समस्या हुन्छ,’ तिमल्सिनाले आफूहरूले गाउँभरिको भेला राखेर अर्को व्यवस्था नभएसम्म तुइन हटाउन नदिने निर्णय नै गरिसकेको बताए । हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष सविन न्यौपानेले पक्की पुल निर्माण गर्नका लागि आवश्यक पहल उपमहानगरका तर्फबाट भइरहेको बताए ।

‘स्थानीयको समस्याबारे सबै जानकार नै छन् । हामीले प्रदेश र संघीय सरकारसमक्ष पटकरपटक आग्रहसमेत गरेका छौं,’ वडा अध्यक्ष न्यौपानेले आफू पनि उक्त स्थानकै बासिन्दा भएको कारण स्थानीयको पीडा बुझेको र समाधानका लागि सक्दो प्रयास गरिरहेको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा सुवास बिडारीले लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*