पर्यटकको आवतजावत बढ्दै

नवयुग संवाददाता
१८ कार्तिक २०७६, सोमबार १९:५८


रसुवा । सीमा क्षेत्र भएर पनि आठनौ वर्ष अगाडि विकट मानिएको टिमुरे क्षेत्रमा सडक निर्माण र नेपाल चीनबीच उत्तरी नाका सञ्चालन भएपछि व्यापार व्यवसायका साथै पर्यटकको ओहोरदोहोर बढेको छ ।

आफ्नो पुख्र्यौली घर छेउकै अधिकांश पैतृक जमीन नाकाको संरचना बनाउँदा अधिग्रहण भई कृषि उत्पादनमा कमी आए पनि टिमुरे तथा रसुवागढी क्षेत्रको चहलपहल दिनप्रतिदिन बढ्दै गएपछि अधिकांश टिमुरेवासीलाई होटल लज सञ्चालन तथा व्यापार व्यवसायले जीविकोपर्जनमा सरलता आएको छ ।

दैनिक सयौँ सङ्ख्यामा सवारी साधनको ओहोरदोहोर तथा व्यापारी व्यवसायी एवं आन्तरिक तथा बाह्य पर्यटकसमेतको आगमन भइरहेको स्थानीय व्यवसायीले बताएका छन् । आन्तरिक पर्यटक कति आए भन्ने अभिलेख नभए पनि अध्यागमन कार्यालयले दिएको विवरणबाट सन २०१८ देखि सन् २०१९ को चालु अवधिमा रसुवागढी नाकाबाट चिनियाँबाहेक अन्य देशका २२ हजारभन्दा बढी पर्यटक रसुवागढी नाकाबाट नेपाल र चीन ओहोरदोहोर गरिसकेका छन् ।

निःशुल्क प्रवेशाज्ञामा नेपाल घुम्न आउने चिनियाँ पर्यटक भने दिनप्रतिदिन बढ्दै गएको अध्यागमन कार्यालय रसुवागढीले जनाएको छ । रसुवागढी नाकाबाट भित्रने चिनियाँ पर्यटक काठमाडौंँ, पोखरालगायत क्षेत्रमा घुमफिर गरी फर्कने गरेका छन् । समुद्री सतहदेखि करीब चार हजार ८०० मिटर उचाइमा चिनियाँ भूभागमा अवस्थित मानसरोवर यात्रामा विशेष गरी भारतीय यात्रु बढी मात्रामा रसुवागढी नाकाबाट तीर्थ जाने गरेका छन् ।

हिमपातका कारण प्रत्येक वर्ष वैशाखदेखि असोजसम्म मात्र तीर्थ जाने मुख्य समय हो । मानसरोवर जानका लागि नेपालबाट रसुवा र हुम्लाको हिल्सा दुई मार्ग छन् । काठमाडौंँबाट हिल्सातर्फ पूरै हवाईमार्ग र रसुवाबाट जाँदा मानसरोवरसम्म नै बसबाट जान सकिने भएकाले बढी मात्रामा भारतीय तीर्थयात्रुले रसुवागढी नाका प्रयोग गरी तीर्थ जाने गरेको अध्यागमन कार्यालयले जनाएको छ ।

अन्तरराष्ट्रिय नाकाका रूपमा रसुवाले मान्यता पाएपछि पर्यटकको आगमन हुन थालेको र पर्यटकको सुविधाका लागि बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म सेवा प्रदान हुँदै आएको अध्यागमन प्रमुख विष्णु घर्तीले जानकारी दिनुभयो ।

पुर्खाले तिब्बतसंँग युद्ध गरी विजय प्राप्त गरेको रसुवागढी किल्ला पुग्न भौगोलिक विकटता थियो । सडक सञ्जाल जोडिएसँंगै १११ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका साथै उत्तरी नाका सञ्चालन र व्यापार व्यवसायसमेत सोही नाकाबाट अभिवृद्धि हुृँदा यहाँको जीवनस्तरमा सुधार भएको बताउदै टिमुरे घट्टेखोलाका समाजसेवी सुनावाङ्दी तामाङले सरकारबाट गरिनुपर्ने पूर्वाधार विकासका कार्य पनि क्रमशः अगाडि बढिरहेको जानकारी दिनुभयो । तामाङका अनुसार पाँचछ वर्ष पहिले १६ किमी दक्षिण स्याफ्रुबेंसी आएर बस चढ्नुपथ्र्यो । अहिले प्राइभेट जीपका साथै काठमाडौँदेखि टिमुरेका लागि सीधा बस सेवासमेत सञ्चालन हुँदा टिमुरे घट्टेखोलाका बासिन्दाको जीवन सुखमय बन्दै गएको छ ।

विसं २०७२ को भूकम्पले क्षति बनाएको ऐतिहासिकगढी पुनःनिर्माण भइसकेको, रसुवा भन्सारको एकीकृत भवन निर्माण शुरू भइसकेको तथा सुख्खा बन्दरगाह र सडक विस्तारको प्रक्रिया अगाडि बढिरहेकाले रसुवागढी नाकाको भविष्य सुन्दर बन्दै गएको स्थानीयवासीले बताएका छन् । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*