बैतडीमा काङ्ग्रेसको उम्मेदवार टुङ्गो

नवयुग संवाददाता
२२ कार्तिक २०७६, शुक्रबार १८:२४

बैतडी । अगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले बैतडीका तीन वटै वडामा आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ । सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका चार र दोगडाकेदार गाउँपालिका–चारमा अगामी मङ्सिर १४ मा उपनिर्वाचन हुदैछ ।

नेपाली काङ्ग्रेस सुर्नया गाउँपालिका– १ को वडा कार्यसमितिको बैठकले वडाध्यक्षमा गजेन्द्रबहादुर चन्दको नाम सिफारिस गरेको छ । यस्तै पुर्चौडी नगरपालिका– ४ मा गोविन्दबहादुर धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काङ्ग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिनुभयो । साथै दोगडाकेदार गाउँपालिका– ४ मा सुरेन्द्रप्रसाद भट्टलाई पनि वडाध्यक्षको उम्मेदवार सर्वसम्मत् रुपमा बनाउने निर्णय भएको हो ।

यस्तै सुर्नया गाउँपालिका– १ मा काङ्ग्रेसले प्रचारप्रसार समिति गठन पनि गरेको छ । प्रचारप्रसार समितिको संयोजकमा दासीराम टेलर र उपसंयोजकमा पदमराम टेलर छन् । वडा कार्यसमितिबाट सिफारिस भएका व्यक्तिको नाम जिल्ला कार्यसमितिले अनुमोदन गरेको कोषाध्यक्ष पाण्डेयले बताउनुभयो ।

सत्तारुढ नेकपाले यसअघि नै आफ्ना उम्मेदवारको नाम टुङ्गो लगाइसकेको छ । यसका साथै साना दलले पनि आफ्ना उम्मेदवारको टुङ्गो लगाउन आन्तरिक तयारी थालिरहेका छन् । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*