पर्यटक पर्खंदै तनहुँसुर

कृष्ण न्यौपाने
९ मंसिर २०७६, सोमबार १७:५४

दमौली । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । सरकारको यो घोषणालाई मूर्त रुप दिन जिल्लास्तरमा विभिन्न समिति, उपसमिति पनि गठन गरिएका छन् । नेपालका विभिन्न ठाउँमा रहेका पर्यटकीय स्थलको प्रचारप्रसार र प्रबद्र्धन गरी धेरैभन्दा धेरै पर्यटक सन् २०२० मा भित्र्याउने सरकारको लक्ष्य हो ।

यो लक्ष्य पूरा गराउन जिल्लाको व्यास नगरपालिका–११ स्थित तनहुँसुरले पनि महत्वपूर्ण योगदान गर्न सक्ने देखिएको छ । प्रचुर पर्यटकीय सम्भावना बोकेको तनहुँसुरले पर्यटक पर्खिरहेको छ । प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस ठाउँको पर्याप्त प्रचार गर्न सकिए तनहुँसुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुनेमा स्थानीयवासी आशावादी छन् ।

तनहुँ जिल्लाको नाम तनहुँसुरवाट अपभ्रंस भएर रहेको भन्ने किम्वदन्ति छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो जेठो छोरो भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका ८ सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।

ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक रुपमा धनी भएर पनि यो क्षेत्र ओझेलमा परेको स्थानीयवासी वीरबहादुर राना बताउनुहुन्छ । “तनहुँसुरको आफ्नै छुट्टै महत्व र विशेषता छ तर, यस ठाउँ ओझेलमा पर्दै गएको छ,” राना भन्नुहुन्छ – “प्रचारप्रसार गर्न सकिए यस ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुनेमा द्विविधा छैन ।”

तनहुँसुरको सेनवंशी राजाको दरबार भग्न अवस्थामा छ । सेनवंशी राजाको समयमा न्याय निसाफ गर्न प्रयोग गर्ने गद्दीचौताराको पनि संरक्षण हुन नसकेको स्थानीयवासी रानाको गुनासो छ । “गद्दी चौतारामा बसेर राजाले भाषण गर्ने, निर्णय लिने र त्यसलाई जनताले कार्यान्वयन गर्ने चलन थियो भन्ने इतिहास छ,” रानाले भन्नुभयो ।

विसं २०२५ सम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाड जस्तै बनेको छ । यहाँका नेवार समुदायको हटिया अहिले रित्तिएको स्थानीयवासी बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँ लगायतका ठाउँमा बसाइँ सरेर गएका छन् ।

तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । पर्यटकीय सम्भावना बोकेको यस ठाउँको विकासका लागि व्यास नगरपालिकाले पहल थालेको वडाध्यक्ष निरबहादुर खड्काले जानकारी दिनुभयो ।

खड्काका अनुसार तनहुँसुरसम्म पुग्ने खड्गदेवी मोटरमार्गको स्तरोन्नतिलाई वडा कार्यालयले प्राथमिकतामा राखेर योजना अगाडि बढाएको छ । साथै यस ठाउँमा सहिद स्मृति पार्क समेत निर्माण गरिएको छ । विसं २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा यस ठाउँका ६ जना शहीद भएका थिए ।

तनहुँसुरमा सेनवंशी राजाको शासनकालमा सेनाले प्रयोग गरेको तोपको अवशेष, सेनवंशी राजाको समयको इनार, टुँडीखेल, कालिका मन्दिर, दरबार क्षेत्र आकर्षणका रुपमा रहेका छन् । साथै, तनहुँसुर दरबार, चण्डीथान, गद्दीचौतारा, साउने कुवा, राजाको पंधेरो, कुँडापानी, रानीपोखरी, धर्मशाला, भगवतीपानी मन्दिर पनि तनहुँसुरको आकर्षणको रुपमा रहेको छ ।

यस्तो छ इतिहास

सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएको तनहुँसुरबाट दमौली बसाइँ सरी आउनुभएका ८७ वर्षीय मोतीकुमार श्रेष्ठले आफ्नो पुस्तक ‘मोतीको माला’ मा उल्लेख गर्नुभएको छ । पुस्तकमा उल्लेख भए बमोजिम राजा मुकुन्दसेनको मरणोपरान्त तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । भृङ्गीसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी को हुने भन्ने विषयमा विवाद चलेको पुस्तकमा उल्लेख छ ।

पुस्तकमा उल्लेख भए अनुसार उक्त विवादमा दलभञ्ज्याङका रणभञ्जन थापाले सहयोग गरेकाले राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजगद्दीबाट हटाएका थिए । राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजा तँ न हो भनेकाले तनहुँ र भाइ धर्माङ्गद सेनले ल म जुङ्ग भनेकाले लमजुङ नाम बन्न गएको किंवदन्ति रहेको छ ।

तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन र लमजुङका राजा वीरमर्दन शाह मनाङ, मुस्ताङ, पर्वत र पाल्पाको बाटो हुँदै तनहुँको शासनभार त्यागेर तनहुँको विरासत राज्य रामनगरमा पुगेर विश्राम लिएको श्रेष्ठले पुस्तकमा उल्लेख गर्नुभएको छ । “तनहुँसुरको इतिहास चिन्नेहरुले तनहुँसुर कालिका मन्दिर र सेनवंशीय राजाको दरबार दुवै एउटै भवन थियो भनेर सहजै अनुमान गर्छन्, वास्तविकता पनि त्यही थियो,” श्रेष्ठले भन्नुभयो – “हाल सेनवंशीय राजदरबार जीर्ण भएर भत्किसकेको अवस्थामा छ । दरबारको भग्नावशेष अहिले पनि यत्रतत्र भेटिन्छ ।”

तनहुँसुर विशेषतः नेवार र मगरहरुको बस्ती बसेको स्थान हो । तनहुँसुरका प्रशासक भृङ्गीसेनले मणिमुकुन्द सेनको मरणोपरान्त तनहुँसुरमा स्वतन्त्र ठकु¥याइँ स्थापना गरेको र त्यही बेलादेखि हिन्दु संस्कृति परम्परा अनुसार तनहुँ कालिकामाईको पूजाआजा र बलि दिने परम्परातको शुरुआत भएको भनाइ छ । तनहुँसुर दरबारमा सरकारी तवरबाट बडादशै र चैतेदशैंमा दुर्गोत्सव पर्व धुमधामका साथ मनाउने परम्परा अहिले पनि कायम छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*