अफगानिस्तानमा दुई दर्जन बढी लडाकू मारिए

नवयुग संवाददाता
१४ मंसिर २०७६, शनिबार २२:१५

काबुल । विगत २४ घण्टाको अवधिमा अफगान सरकारी फौजको कारबाहीमा विद्रोही तालिबान समूहका २४ जना लडाकाको मृत्यु भएको अफगान सेनाले जनाएको छ । यस कारबाहीमा अर्को विद्रोही समूह इस्लामिक स्टेटका ३१ जना लडाकाले आत्मसमर्पण गरेका छन् ।

सेनाले जारी गरेको विज्ञप्तिमा पूर्वी लोगाड प्रान्तको बाराकी बाराक जिल्लामा गरिएको सैन्य कारबाहीका क्रममा आठ जना तालिबान लडाकू मारिएको उल्लेख छ । शुक्रबार अबेर राति गरिएको यस सैन्य कारबाहीका क्रममा अरु थुप्रै तालिबान लडाकू घाइते भएको सेनाले दाबी गरेको छ ।

यसैगरी, कुन्दुज प्रान्तका तालोका क्षेत्रमा गरिएको अर्को सैन्य कारबाहीमा आठ जना तालिबान लडाकू मारिनुका साथै सात जना घाइते भएका छन् ।

यसैबीच, तालिबान विद्रोही समूहले इस्लामिक स्टेट समूहका तीन जना लडाकूलाई जार्म जिल्लाको खोस्टाक उपत्यकामा हत्या गरेका छन् ।

दक्षिणी हेल्मान्ड प्रान्तमा सीमा प्रहरी बललाई लक्षित गरी तालिबानले गरेको आक्रमणमा एक जना बरिष्ट प्रहरीको मृत्यु हुनुका साथै अरु तीन प्रहरी घाइते भएको प्रान्तीय सरकारका प्रवक्ता एस्तामुल्लाह मुराडीले बताउनुभयो ।

सरकारी भनाईको प्रतिवाद गर्दै तालिबानका प्रवक्ता जबिहुल्लाह मजाहिदले विगत २४ घण्टाको अवधिमा मुलुकभर दर्जनौं सुरक्षाकर्मी मारिएको दाबी गर्नुभयो ।

उता, पूर्वी नान्गरहर प्रान्तको अचिन जिल्लामा सुरक्षा फौज समक्ष ३१ जना इस्लामिक स्टेटका लडाकूहरुले आत्मसमर्पण गरेको प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अफगानिस्तानमा युद्धरत विभिन्न पक्षले सशस्त्र भिडन्तका क्रममा मृत्यु भएका व्यक्तिका सम्बन्धमा बढाइचढाई गर्ने गरेको स्वतन्त्र अनुगमनकर्ताहरुको भनाई छ । सिन्ह्वा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*