आईसीयूबाट प्रधानमन्त्रीको २ मिनेट १३ सेकेण्ड लामो भिडियो सन्देश (भिडियोसहित)

नवयुग संवाददाता
१६ मंसिर २०७६, सोमबार १७:२५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै एक भिडियो सन्देश जारी गरेर आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् ।  सोमबार दिउँसो त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयू कक्षबाटै प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भिडियो सन्देशमा यसो भनेका छन् :

‘एपेण्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्याशित रूपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सीमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनुपर्‍यो । त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरू देखिरहनुभएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरूसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरू हेर्न सक्ने अवस्थामा छु ।

हिजो मैले १३औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरें । हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकोमा खुशी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनुभएकोमा, अरु सबैलाई सहभागी हुनुभएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरू र सार्क क्षेत्रका खेलाडीहरू सबैलाई आग्रह गर्दछु ।’

प्रधानमन्त्री ओलीको भिडियो सन्देश

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*