साझाको भोट जम्मा २ हजार पनि पुगेन , मिश्र मतदातासँग आक्रोशित

नवयुग संवाददाता
१६ मंसिर २०७६, सोमबार १८:१३

काठमाडौँ । पुराना राजनीतिक दलले वितृष्णा जगाएको भन्दै मुख्यतः सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्ने साझा पार्टीलाई उपनिर्वाचनमा जनताले स्वीकार गरेको देखिएन।

वैकल्पिक राजनीति गर्ने भन्दै रवीन्द्र मिश्रको नेतृत्वको सो पार्टीले चार स्थानमा उम्मेदवारी दर्ता गराएपनि सबै ठाउँमा जमानत जफत भएको छ। उसको कुल भोट २ हजार पनि पुगेन।

प्रतिनिधिसभा–१, प्रदेशसभा–२ र उपमहानगरपालिकाको मेयरसहित मुख्यतः ४ स्थानमा उम्मेदवारी दिएको साझा पार्टीले जम्मा १ हजार ६ सय ८० मत मात्रै प्राप्त गर्न सफल भएको छ। जसअनुसार कास्की–२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएकी रजनी केसीले जम्मा ९ सय ४२ मत मात्रै प्राप्त गरिन्। उनको जमानतपनि जोगिएन। त्यस्तै, दाङ–२ ९ख० मा शिवकुमार चौधरीलाई प्रदेश सांसद उम्मेदवार बनाए पनि जम्मा २ सय ६५ मा सिमित हुनुपर्‍यो भने त्यस्तै हालत भक्तपुर–१ ९ख० मा उठाएका सुरज प्रधानको पनि भयो। उनले जम्मा ३ सय ९३ मत मात्रै प्राप्त गरे। आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार धरान उपमहानगरपालिकाका मेयरका उम्मेदवार राजनकुमार श्रेष्ठले जम्मा ८० मत मात्रै ल्याए। धरानसँगै साझा पार्टीका सबै उम्मेदवारको जमानत पनि जोगिएन।

साझा पार्टीका नेता निराश

चुनावी परिणामले साझा पार्टीका शीर्ष नेतामा निराशा छाएको, उत्साह घटेको उनीहरूले गरेको सार्वजनिक टिप्पणीले देखाएको छ। कतिसम्म भने मत नदिएको भन्दै मतदातासँग आक्रोशसमेत पोख्न छुटाएका छैनन्।

जमानत जफत हुने गरी उपनिर्वाचनमा पराजय भोगेपछि पूर्व पत्रकारसमेत रहेका मिश्रले ‘अराजनीतिक आक्रोश’ सामाजिक सञ्जालमार्फत् पोखेका छन्। ‘उपचुनावले साझा पार्टीले छोटो समयमा जे गर्‍यो त्यसमा थप धेरै मेहनत गर्नुपर्ने सन्देश दिएको छ,’ मत नआएपछि उनको आक्रोश पोखिएको छ। ‘साथसाथै, मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ।’

चुनावी परिणाम लगत्तै संयोजक मिश्रले दिएको यो प्रतिक्रियाको व्यापक रूपमा आलोचना भइरहेको छ। अर्का नेता केशव दाहालले ‘राजनीतिमा चलिआएको चलनलाई राम्रो’ भन्नु पर्नेमा भन्दै निराशा पोखेका छन्।

‘हामीले पार्टी खोलेको पनि हो, चुनावमा भाग लेको पनि हो र मत थोरै आएको पनि हो, यो सत्यसँग कुनै पछुतो छैन’ उनले लेखेका छन, ‘कि त भनौ, राजनीति जे चली आको हो त्यही राम्रो। अन्यथा हामीले गनगन मात्र गरेनौ, बरु यथास्थितिलाई बदल्ने प्रयत्न त गर्‍यौं। प्रश्न त उठायौं। जे भयो समीक्षा गरौला। तर अभियान रोकिदैंन।’

अर्का नेता मुमाराम खनालले पनि ‘राजनीतिक जमिनमा टेक’ भन्ने सन्देश उपनिर्वाचनले दिएको उल्लेख गरेका छन्। ‘यो उपनिर्वाचनले साझालाई ‘राजनीतिक जमिनमा टेक’ भन्ने सन्देश दिएको छ, यही सन्देश बोकेर कमजोरीको समीक्षा गर्दै पार्टी अगाडि बढ्नेछ’ उनले लेखेका छन, ‘स्थायी असफलताले ‘सफलता’ पायो भन्दैमा हामी निराश भएका छैनौं, अझ डटेर आगामी निर्वाचनको सामना गर्नेछौं।’ पार्टीले पनि उपनिर्वाचनको परिणाम समीक्षा गर्नुपर्ने भन्दै भोलिको दिनका लागि काम गर्ने प्रतिज्ञा गरेको प्रवक्ता सूर्यराज आचार्यले जनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*