राहदानी सेवा प्रभावकारी बनाउने प्रयास

नवयुग संवाददाता
२० मंसिर २०७६, शुक्रबार ०७:४५

काठमाडौं । बिहीबार बिहान ९ः३० बजे राहदानी विभाग परिसरमा राहदानी बनाउनेको लर्को बढ्दै थियो । केही फोटोकपी गर्न दगुरादगुरमा थिए । केही अनलाइन फाराम कता भर्ने भनेर सोधखोज गर्दै थिए । कर्मचारी कार्यालय प्रवेश गर्ने समय रहेकाले भित्री आवतजावत तीव्र थियो ।

आइतबार र सोमबार प्रतिदिन झन्डै एक हजार दुई सय जना र अन्य दिन पाँचदेखि सात सय जनाको हाराहारीमा दैनिक सीधै सेवाग्राही विभाग पुग्छन् । जिल्लाबाट आउने फारामसमेत गरी हरेक दिन करिब तीन हजारले सेवा लिन्छन् । यति ठूलो सेवा दिने ‘आईएसओ’ प्रमाणपत्र पाएको विभागको गेटमै फुटेको ढल देखियो ।

कार्यकक्षभित्र कतिपय राम्रो काम भइरहे पनि त्यसको झल्को बाहिरको वातावरणले महसुस गराएन । सेवाग्राही कुर्ने कुर्सीका लर्कोपट्टि फुटेको ढलमा घाम परेसँगै दुर्गन्ध फैलँदै थियो । “पहिले आउँदा पनि यो यस्तै थियो, अहिले पनि यस्तै ढल फुटेर फोहोर नै रहेछ,” एक सेवाग्राहीले थपे, “हेर्नुस् न यो डस्टबिन कस्तो फोहोर रु” परिसर छिर्नासाथ दायाँतिर शौचालय छ । शौचालयबाट गेटतिर बगेर आउँदै गरेका तरल शौचका दुर्गन्धले हरेकका नाक खि¥याउँदै थियो ।

सेवा चुस्त

बाहिर जे भए पनि विभागले दिने आन्तरिक सेवामा भने निकै चुस्तता बढेको पाइयो । राहदानी बनेको खबर पाएपछि लिन आएका सेवाग्राहीदेखि तत्काल बनाउन आएकाको चहलपहल बढ्दो थियो । पहिले पहिले बिचौलिया र बाहिरका व्यापारीको क्रीडास्थल बन्ने गरेको विभागको त्यो पाटो सुधारिएको सेवाग्राहीकै टिप्पणी थियो ।

कैलालीका चन्द्रबहादुर घर्ती आफ्ना छोराको राहदानी बनाउन एक दिनभर गाडीको यात्राबाट १०ः१५ बजेको आसपास विभागमा आइपुगे । “छोरालाई विदेश पठाउने हो, त्यसैले राहदानी बनाउन आएको।” उनले भने, “ऊ भित्र गएको छ, हामी यहाँ कुर्दैछौँ ।”

“दु्रत राहदानी सेवाका लागि लाग्ने शुल्क भने महँगो भयो, सामान्यभन्दा थोरै मात्र बढाए हुन्थ्यो,” सूर्यबहादुरले थपे । द्रुत सेवाबाट राहदानी लिँदा तीन दिनमा राहदानी प्राप्त गर्न १० हजार, दुई दिनमा पाउन सक्नेको १२ हजार र एकै दिनमा प्राप्त गर्न सक्ने सेवाको १५ हजार रुपियाँ शुल्क रहेको छ । बुटवलकी सविता विष्ट तीन दिनअघि सहजै काम सकेर बिहीबार राहदानी लिएर फर्कंदै थिए । आएकै दिन बिहान दुई घण्टामा कागजपत्र दर्ताको काम सकेर उनी फिर्ता भएकी थिइन् ।

सुनवलकी मनिषा बराल भने बिहीबार नै विभागमा दु्रत राहदानी बनाउन आइन् । सजिलै तीन दिनमा राहदानी पाउने भएपछि उहाँ मख्ख हुनुहुन्थ्यो । लमजुङका मिलन गुरुङले पनि राहदानी लिन लाइनमा बसेको बताइन् । यसरी कुरेर बसेकाको नाम बोलाएपछि टोकनका आधारमा लिन गइन् ।

अलमल पनि उस्तै

“केही सेवाग्राही भने गेटमै अलमल परेको देखिए । खै अनलाइन फाराम चाहिन्छ रे ,” मकवानपुरकी स्यानी कुम्हारले अलमलिएको बताए । उनी आफ्ना तीन बहिनीको राहदानी बनाउन साथ लागेर आएका थिए । वैदेशिक रोजगारमा जानका लागि राहदानी बनाउन खोजेको उनले बताए । केशरमहलपट्टिको सडक पार गरेपछि उहाँले त्यहाँ प्रतिफाराम एक सय रुपैयाँ तिरेर भरे । चाहिने कागजपत्रका फोटोकपी गरे ।

अनलाइनको पहुँच नभएकाले उहाँहरूले झैँ विभागमै आइपुगेर पनि दुःख पाउने गरेको देखियो । फोटोकपीको सहज पहुँच नहुँदा पसल खोज्न चहार्नुपर्ने बाध्यता हटेको रहेनछ । लाइन बसेर टोकन लिँदै पालोमा काम गर्ने प्रणाली भने व्यवस्थित थियो । कागजपत्र रुजू गर्ने, टोकन लिने, बैङ्क भौचर बनाउने, फोटो खिच्ने, दर्ता गर्ने सेवा लहरै हुँदा सेवाग्राहीले दस ठाउँ चहार्न पर्ने अवस्था थिएन ।

कर्मचारीमा चाप

कर्मचारी पर्याप्त नहुँदा भने भित्री काममा एक जना कर्मचारीलाई चाप परेको देखियो । दु्रत सेवाका लागि राखिएको कोठा नम्बर २१, २३ र २६ नम्बरमा समेत मानिसको लाम थियो । कागजपत्रको नक्कल र रसिदसहित उपस्थित भएका सेवाग्राहीलाई सेवा दिन थोरै कर्मचारी सक्रिय थिए । रसिद लिएर कर्मचारी भित्र राहदानी खोज्न गएका बेला झ्यालमा आएका सेवाग्राहीलाई सेवा दिने कर्मचारीको अभाव थियो ।

“आइतबार र सोमबार त अझ बढी भीड हुन्छ,” एक कर्मचारीले भने, “अरू दिन सामान्य लाइन रहन्छन् ।” यसै वर्ष मात्र सरकारले विभागमा २१ जना कर्मचारी कटौती गरेको थियो, जसका कारण चुस्त सेवामा असर परेको छ ।

सेवाको प्रतिबद्धता

बिहान १० बजे विभागका महानिर्देशक रामकाजी खड्का कार्यालय प्रवेश गरे । कर्मचारी बैठक सकेर भर्खरै कार्यकक्ष पुग्नुभएका खड्का अर्को बैठकमा हिँड्नुअघि नै भेट भयो । उनले पनि पर्याप्त जनशक्तिको अभाव पूर्ति गर्न २१ जना थप हुनुपर्ने, कर्मचारीलाई ऊर्जा दिने खालको वातावरण बनाउनुपर्ने र प्राविधिक र दक्ष कर्मचारी बहाल गर्नुपर्नेमा जोड दिए ।

“अब हेर्नुस्, सेवाग्राहीका सबै खालका जानकारी रेकर्ड भएपछि पासपोर्ट प्रिन्ट गर्ने काम अर्कै ओभरथर्ड टेक्नोलोजीलाई करारमा जिम्मा दिइएको छ,” उनले थपे, “छापिएको राहदानीको गुणस्तर हामी नै हेर्छौं तर आफ्नै दक्ष जनशक्ति र स्रोतसाधन भएको भए अझ ढुक्क भइन्थ्यो ।” विभाग पूरै अनलाइन सिस्टममा प्रवेश गर्दैगर्दा त्यो प्रणालीका लागि सबै क्षेत्रका सर्वसाधारणको ज्ञान र पहुँच नहुँदा समस्या बढ्दै छ । आजको गोरखापत्र दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*