प्रदेश ३ सरकारको बजेट : अझै गरेनन् स्थानीय तहले फस्र्यौट

नवयुग संवाददाता
२९ मंसिर २०७६, आईतवार १४:२९

सिन्धुली । जिल्लाका नौवटै स्थानीय तहले प्रदेश नं.३ सरकारबाट प्राप्त बजेटको हालसम्म फस्र्यौट गरेका छैनन । रकम समयमा फस्र्यौट नगरेका कारण चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले दिएको बजेट स्थानीय तहले ल्याउन सकेका छैनन । समयमा खर्च फस्र्यौट गर्न नसक्दा नौवटै स्थानीय तहले चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट आउने कुल नौ करोड २२ लाख पाँच हजार रुपियाँ बजेट रोकिएर बसेको छ ।

गत आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारबाट स्थानीय तहले पाएको बजेटको खर्च विवरण चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिना बित्दा समेत पेश नगर्दा पहिलो किस्ता बजेट समेत ल्याउन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी कोष नियन्त्रक सुरेश दाहालले दिएको जानकारी अनुसार स्थानीय तहले गत आर्थिक वर्षमा प्रदेश सरकारबाट पाएको बजेटको खर्च विवरण पेस गरेपछि मात्रै चालू आर्थिक वर्षको प्रदेश सरकारको बजेटको पहिलो किस्ता पाउने व्यवस्था छ ।

‘स्थानीय तहले प्रदेश सरकारतर्फको बजेट खर्च विवरण अहिलेसम्म पेश गरेका छैनन’, उनले भने, ‘जसका कारण नयाँ निकासामा समस्या आएको छ ।’ खर्च गर्ने समय अझै पर्याप्त रहेकाले उनीहरूले बजेट लान ढिलाई गरेको हुनसक्ने उनले बताए । ‘बजेट पाएपछि कति रकम पुँजीगत र कति रकम चालू बनाउने हो, स्थानीय सरकार आफैँमा निर्भर रहन्छ ।’

दाहालका अनुसार प्रदेश सरकारले यो बजेट गत आर्थिक वर्षमा सिधै स्थानीय तहको खातामा निकासा गरिदिएको थियो तर यो वर्ष भने जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत निकासा गर्ने व्यवस्था गरेको छ । कतिपय स्थानीय तहलाई थाहा नभएर पनि प्रदेश सरकारले दिने बजेट खोज्न नआएको र सिधै आफ्नो खातामा निकासा हुन्छ भनेर ढुक्क भएर बसेको हुनसक्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*