शिक्षाको क्षितिज : केही सवालहरू

बालकुमार श्रेष्ठ
२२ पुष २०७६, मंगलवार १८:१६

यौनलाई आधार बनाएर सिग्मण्ड फ्रायडले मनोविज्ञानको उदाहरण दिए । वास्तवमा यो संसारमा कुनै पनि प्राणीले यौनविना सन्तान उत्पादन गर्न सक्दैनन्, एकाध अपवाद वाहेक । सबैले बुझ्ने भाषा हाउभाउ र यौनेच्छाको हुने भए पनि यौनले मात्र विचार र चेतनाको विश्लेषण गर्नु सिग्मण्ड फ्रायडको भुल थियो । सामाजिक व्यवहारवादी सिद्धान्त तपाईले के बोल्नुभयो त्यो कुरा मुख्य होइन, तर तपाईले कुन सोचले अभिप्रेरित भएर त्यो बोल्नुभयो, त्यो मुख्य हो भनेको छ। त्यस्तै कार्ल मार्क्सले ठोस द्वन्दात्मक भौतिकवादी व्याख्या गरेका हुन् , तर उनले त्यो विचार जर्मन दर्शनशास्त्रीबाट सापटी लिएर सुल्ट्याएको हुँ भनेर भनेका छन् । वास्तवमा धेरै अर्थमा घट्नाबाट विचारको जन्म हुन्छ भन्ने मार्क्सवादी व्याख्या प्राकृतिक घट्ना र ध्रुवसत्य घट्नामा धेरै यथार्थवादी देखिन्छ, तर सामाजिक घट्ना र व्यक्तिगत व्यवहारमा भने चिन्तन वा सोचले व्यबहारलाई उत्प्रेरित गर्दछ । समाजशास्त्रीय मोडेलको मनोवैज्ञानिक उपागमबाट हेर्ने हो भने व्यक्तिको जन्म, सामाजिकीकरण, सामाजिक प्रवृत्ति नै मानव व्यवहारको गुण वा दोषको भागीदार हुने गर्दछ । अर्थात् आज जति पनि नैतिकताको खडेरी परेको छ, ती सबै मानव प्रवृत्तिलाई बंशाणु गुणले ५०५ र सामाजिक गुणले ५०५ प्रभाव पारिरहेको हुन्छन् , भन्नुको अर्थ के हो भने नेपालमा धेरै दण्डहीनता मौलाउनु र अविकास बढ्नुमा शिक्षा क्षेत्रमा भएको न्यून लगानी र सो न्यून लगानीको पनि उचित प्रतिफल लिन नसक्नु हो । शिक्षा शिक्षकको मात्र ठेक्का होइन, शिक्षा आज ज्ञान हस्तान्तरण नभएर रचनात्मक ज्ञान निर्माणको दृष्टिबाट प्रदान गर्नुपर्छ भन्ने छ । अनि शिक्षाको उद्देश्य ज्ञान हासिल गरि प्रयोग र व्यवहार कुशल सीप पाउनु नै हो, तर यसमा विद्यालय व्यवस्थापनले साथ दिनुपर्छ किनकि उ सामुदायिक शैक्षणिक नेतृत्व हो । यसमा शिक्षक एक्लैले कक्षाकोठामा कोर्श सिध्याएर मात्र वा सर्टि्फिकेट दिलाएर मात्रै शिक्षाको लक्ष्य प्राप्त हुँदैन ।

तर नेपालमा त्यही नै शिक्षाको सफलता हो भन्ने भुलको निरन्तरता अद्यापि छ । त्यही दौडमा पनि सामुदायिक विद्यालयहरू लगनी र लगनशीलताको अभावमा संस्थागत भन्दा पछाडि परेका छन्, तर विद्यालय शिक्षा पूरा गरेका किशोरकिशोरीमा नैतिकता, सामुहिकता, नेतृत्व सीप, सामाजिक समायोजन आदि दृष्टिले सामुदायिक विद्यालयका उत्पादन नै अगाडि छन् । जसले अनुसन्धान गरे पनि देखिने शाश्वत सत्य त्यही हो । पात्रता वा भाँडो अनुसारको पानीको रङ्ग र आकार बन्ने हो । त्यसैले धैर्यशील र मेहनती निम्नवर्गीय विद्यार्थी सरकारी विद्यालयमा पढेका हुन्छन्, या त तिनको चेतना जागेको हुँदैन या उनीहरू सुषुप्त मनमा धेरै आकांक्षा पाल्दैनन् । पहिलो अवस्थामा उनीहरू विद्यालय शिक्षा पूरा गर्दैनन्, दोस्रो अवस्थामा उनीहरू स्वतस्फूर्त चेतनामा हुन्छन् । उनीहरू मध्यमार्गमा हिड्न नै चाँहदैनन वा जान्दैनन् जसले उनीहरूलाई या त शिक्षाको उच्च तहमा पुग्न दिदैन, या त उनीहरू लगनशील भएर व्यवहारिक शिक्षामा निरन्तर लागि पर्छन् । यहि हो वास्तविक शिक्षा ।

वि. सं. २०६६ सालतिरको कुरा हो एकदिन म पदमपोखरीको जङ्गलमा पैदल हिंड्दै थिए, एउटा टोलवासी भाइसंग अकस्मात् भेट भयो, उनले मलाई केहीबेर अनौपचारिक कुरा पछि सोधे- “बालकुमार दाइ तपाईले बजारमा कतै घरजग्गा जोड्नुभयो कि नाई ?“ मैले सहजै जवाफ फर्काएँ “नाई“ । उसले फेरि सोधे- “ त्यसोभए बैंकमा टन्न जम्मा गर्नुभएको होला नि ।“ त्यस्तो स्थिति पनि नभएकोले म मुसुक्क हाँसे मात्र । पछि “छैन “ भनें तर उसले पत्यायन । मैले केही विश्वास दिलाउने उदाहरण बताएँ । त्यसपछि उसले भन्यो- “उसोभए तपाइले डिग्री पढेको त मेरो टेस्ट पास भन्दा कम भएछ, मैले हेटौडामा २ वटा १० धुर घडीको जोडें“ त्यतिखेर मलाई खल्लो लागे पनि मैले उसलाई मेरो र उसको पेशागत भिन्नता बुझाउन खोजें, तर उ मानेन र हामी आआफ्नो गन्तव्यमा लाग्यौं ।

यो उसको चेतन मनले भनेको कुरा हो । उसले आफ्नो चेतनामा शिक्षा केवल धन कमाउने माध्यम हो भन्ने बनाएको देखिन्छ । खासमा शिक्षाको क्षेत्र फराकिलो हुन्छ । ती क्षेत्रहरूमध्ये एक मात्र जिविकोपार्जनको लागि आबश्यक धन कमाउनु पनि हो, तर नेपाली समाजमा विद्या भन्दा धन ठुलोको पक्षमा तर्क राख्नेको संख्या बढी छ । यसरी हेर्दा हामी शिक्षालाई रचनात्मक र सिर्जनात्मक पक्षबाट हेर्न बिर्सिरहेका छौं । समाजवादि चिन्तन र पुँजीवादी चिन्तन दुवैले मुर्त र भौतिक बस्तुलाई महत्त्व दिएकोले मुल्यमान्यता र सोचमा आएको चेतनास्तरलाई शिक्षाको उपलब्धि हो भन्ने तथ्यलाई बिर्सिएको छ । कतिपय शिक्षित समुदायले महिला र अपाङ्गता भएका वर्गको बारेमा बोलेका शब्दहरूलाई शिक्षितको श्रेणीमा राख्न मलाई कठिन हुन्छ । यो बौद्धिक दिवालियापनभन्दा अरू केही देखिदैन ।

शिक्षाको पास र फेल भन्नेमा गुरूको हात भए पनि संस्कार र आदर्श चेत निर्माण शिक्षार्थीको स्वतस्फूर्त चेतनामा आधारित कुरा हो । मानिस जन्मदै उसको भाग्य र भविष्य तय हुन्छ भन्ने पुर्विय दर्शनलाई भाग्यवादी सोच नै मान्नुपर्छ तर त्यसो भन्दैमा पुर्विय दर्शनमा भएको शिक्षा र चेतनाका परम्परामा वैज्ञानिकता छैन भनी चटक्कै छोड्नु गलत परम्परा हो । हामीले गलत प्रथालाई परिमार्जन गर्ने वा क्रमभङ्गता रोज्ने भन्ने प्रवृत्ति सामाजिक परिपर्तनका अभियन्ताहरूको मष्तिष्कबाट शुरूमा बिजारोपण हुन्छ, त्यसपछि भने बल्ल व्यवहारिक निर्णय जन्मने हो, त्यसैले शिक्षा स्वतस्फूर्त चेतना हो । केही अवसरको ढोका खोल्ने पद्धति शिक्षाको स्वतस्फूर्त गुणमध्ये एक भएकोले यसको सदुपयोग आम्दानी, यश र किर्ति वृद्धि गर्नमा प्राचीन कालदेखि नै प्रयोग हुँदै आएको छ । वर्तमानको मानिसहरू शिक्षालाई संकुचित घेराबाट व्याख्या विश्लेषण गर्दछन् । त्यसैले यो पगडिघारीको सेवा गर्ने मोडेलको सैद्धान्तिक र पेशागत कर्मचारी उत्पादन गर्ने शैलीको भयो । यसैलाई लेनिनको व्याख्यामा राजतन्त्रको पोषक औजारको रूपमा व्याख्या गरेका थिए । वर्तमान नेपालमा १० र१० बर्षमा नयाँ पाठ्यक्रम तयारी र प्रस्तुत गर्ने गरिन्छ, तैपनि शिक्षालाई स्वतन्त्र रूपमा छनोट गरि स्वावलम्बी र आत्मनिर्भर बनाउन सकिएको छैन । व्यवसायिक र प्राविधिक शिक्षाको आडमा धेरै महङ्गो शिक्षा प्रणाली भएको छ ।

महङ्गो तिरेर पढाएको शिक्षा अब्बल र सस्तो तिरेर पढाएको गुणस्तरहीन हुन्छ भन्ने मानसिकता पनि संकिर्ण सोचको कारणले बनेको छ । स्वतस्फूर्त रूपमा दिक्षित भएको गुण कहिल्यै पनि विस्मरण हुँदैन, पात्रतालाई सहि दिशामा राखेर शिक्षा ग्रहण गर्नमा पनि स्वतस्फूर्त चेतनाको शिक्षाले नै सहयोग गर्ने हो । शिक्षा माध्यम पनि हो र सीप पनि हो । कुनै पनि मानवीय मुल्यको अंशलाई अध्यात्मिक शक्तिको कारणले बढी गहिराइमा बुझ्न सकिन्छ न कि भौतिक पदार्थको अवलोकनले । त्यसैले मनोविज्ञान र व्यवहारवादी विज्ञानका लागि मानिसको मष्तिष्कमा बन्ने चेतनाको चित्र नै प्रमुख रूपमा जिम्मेवार हुन्छ । एउटा न्यायक्षेत्रमा काम गर्ने न्यायमुर्तिले भावनामा भन्दा कानुनमा बढि दृष्टि राख्नुपर्छ, तर उनीहरूले कानुनी रूपमा ठोस सबुत मात्र होइन, व्यवहारमा गरेका समयर सत्यताको परख गरेर पनि निष्कर्षमा पुग्दछन । सोही क्रममा उनीहरूले स्वतस्फूर्त रूपमा आर्जित अनुभव र ज्ञानको उपयोग गर्छन् । त्यसैले शिक्षालाई स्वतन्त्र रूपमा ग्रहण गर्न ईच्छुक विद्यार्थीलाई मात्र शिक्षा दिने र कुनै न कुनै शिक्षा छान्न दिनुपर्ने शैक्षिक प्रणालीको विकास गर्नुपर्दछ । सबैलाई समान पद्धति र पाठ्यक्रम अनिवार्य गर्दा शिक्षाको स्वतस्फूर्त चेतनामा ह्रास आइरहेको छ ।

(लेखक : सोसल स्टडिज टिचर्श एशोसियसन, नेपालको महासचिव हुन्) 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*