जातीय विभेदले गाँठो पारेको पाँच दशक लामो प्रेमकथा

कविरसँग बिहीबार

नवयुग संवाददाता
२६ पुष २०७६, शनिबार ०७:४८

काठमाडौं । ६६ वर्षीया अन्नपूर्ण रिजाललाई अझै पनि कसैको चिन्ता छ भने त्यो उनको जीवनसँग जोडिएका व्यक्तिको हो। जबकी उनी आफ्नै लागि समेत मुस्किलले खाना बनाउन सक्छिन्। ललितपुर सानेपामा रहेको सानो भाडाको कोठाबाहिर यताउता गर्दा उनले आफ्नो जीवनसँग जोडिएका ती व्यक्तिसँग पर्खाइका दिन गनिरहेकी हुन्छिन्। ती व्यक्ति प्रत्येक बिहीबार अन्नपूर्णलाई भेटन पुग्छन्।

ती व्यक्ति ७० वर्षका छन्। भेटमा उनीहरू धेरै कुरा गर्दैनन्। सम्बन्धको न्यानोपन निकै पहिले मरिसकेको छ। तर जब उनी त्यहाँबाट हिँड्छन् अन्नपूर्ण फेरि अर्को बिहीबारको पर्खाइमा हुन्छिन्। यो दुवैजनाको डेढ दशकदेखिको दिनचर्या हो। अन्नपूर्णसँग कविरसँगको सम्बन्धको एउटै मात्र सबुत छ– त्यो हो सिरानीमा रहेको नागरिकताको प्रमाणपत्र, जसमा उनका छोराको नाम सुरेश बज्राचार्य र बाबुको नाम कविरकुमार बज्राचार्य लेखिएको छ।

कविरले ४८ वर्ष पहिले अन्नपूर्णलाई एउटा प्यारो छोरा दिएका थिए। तर उनले पर्याप्त रेखदेख भने गरेनन्। छोराले डिप्रेसनसँग लड्न निद्रा लाग्ने औषधिको सहारा लिन थाले। सन् १९९९ मा उनले आत्महत्याको बाटो रोजे। अन्नपूर्णले छोराको गैरजिम्मेवारीपूर्ण निर्णयलाई अझै क्षमा गरेकी छैनन्। उनले पिताका रुपमा कविरलाई पनि माफ गर्न सकेकी छैनन्। तर उनले गर्नसक्ने केही पनि छैन।

अन्नपूर्ण आज समाचारको पात्र सायद बन्ने थिइन्न् होला, यदि छिमेकीले उनको दुःखमा चासो नदेखाएको भए। अन्नपूर्णलाई भेट्दा उनीसँग दुई छिमेकी थिए। त्यसमध्ये एक छिमेकीले नागरिकसँग भनिन्, ‘यो यस्तो कथा हो जहाँ एक महिला कविरलाई जीवनभर माया गरिरहिन् तर अर्कोतर्फबाट सायद धोकै पाइन्। पारिवारिक कारणले ती छिमेकीले नाम भने खुलाउन चाहिनन्।

छोराको मृत्युपछिको दुई दशक अन्नपूर्णका लागि अन्धकारमय बनेको छ। तर अहिले पनि उनको मनमा कविरप्रति प्रेमको दियो बलिरहेकै छ। उनी फेरि अर्को बिहीबारको पर्खाइमा छिन्। ती दुई महिला कविरलाई अन्नपूर्णका पतिका रुपमा चिन्छन्। उनीहरु अन्नपूर्णको दुःखदायी जीवनको दोषी पनि कविरलाई ठान्छन्।

करिब १२ वर्ष पहिले आमा समूहको पहलमा कविरलाई अन्नपूर्णको समस्या समाधान गर्न दबाब दिइएको थियो। उनको बाँकी जीवन सहज होस् भनी नगद, एउटा घर वा जे सम्भव हुन्छ व्यवस्था गरिदिन कविरलाई भनिएको थियो।

यसमा अन्नपूर्ण पनि सहमत भएकी थिइन्। तर जब कविरले आफू र धनमध्ये एउटा रोज्न भने उनको सोच परिवर्तन भयो। ‘त्यो व्यक्तिले उनलाई सहजै प्रभावमा पार्‍यो, ऊ अन्नपूर्णलाई मासिक केही सय रुपैयाँबाहेक केही पनि दिन तयार भएन। ऊ निकै धनी मान्छे हो, काठमाडौंमा उसको तीनटा घर छ,’ अन्नपूर्णकी छिमेकी सुशीला बिष्टले भनिन्।

गत शनिबार एक खाजा घरमा दुई छिमेकीले अन्नपूर्णको जीवनमा ‘खलनायक’ बनेका ती व्यक्तिको आलोचना गर्दै न्यायका लागि आबाज उठाइरहँदा उनी भने चुपचाप सुनिरहेकी थिइन्। ‘ऊ उच्च मधुमेहबाट पीडित र वृद्ध छ’, उनले मधुर स्वरमा भनिन्। छिमेकी महिला भने कविरप्रति उदार नहुन अन्नपूर्णलाई आग्रह गरिरहेका थिए। छिमेकीहरू अन्नपूर्णको बाँकी जीवन सहज ढंगले बितोस् भन्ने चाहन्छन्। उनका पति कविरले त्यसको व्यवस्थापन गरुन् भन्ने छिमेकी चाहन्छन्। अन्नपूर्णको हेरचाह गर्ने कोही छैन। कविरले केही पैसा अन्नपूर्णको नाममा जम्मा गरिदिए यसबाट आउने ब्याजले उनको रेखदेख गर्ने सहयोगी राख्न सकिने छिमेकी बताउँछन्। उनी डिप्रेसनलगायत समस्याबाट पीडित छिन्। ‘हालै मात्र उनी बेहोस भएकी थिइन, हामीले तत्कालै गएर मद्दत ग९यौं,’ छिमेकी ती महिलाले भने।

कविरले अन्नपूर्णलाई किशोर अवस्थामै भेटेका थिए। त्यतिबेला अन्नपूर्ण १६ वर्षकी मात्र थिइन्। अन्नपूर्णका एक साथीले उनलाई निःशुल्क पढाउन तयार भएको बताएका थिए। त्यतिबेला अन्नपूर्ण एसएलसी परीक्षाको तयारीमा थिइन्। उनी निःशुल्क सहयोग पाउने आसमा कविरसँग पुगिन्। अन्नपूर्ण अनाथ थिइन्। बालमन्दिरमा हुर्के–बढेकी उनी त्यतिबेला एक टाढाका नातेदारसँग बस्थिन्।

शिक्षक कविर र विद्यार्थी अन्नपूर्णबीच प्रेम भयो। कविर भने पहिले नै विवाहित थिए। उनका दुई छोरासमेत थिए। प्रेम केही समयसम्म चलिरह्यो। कविरले अन्नपूर्णलाई कान्छी बनाउने सपना देखाउँथे। त्यो सपना अधुरै रहयो र अहिले दुवै जना जीवनको उत्तरार्धमा छन्।

‘मैले उन ९अन्नपूर्ण० लाई मसँगै आएर परिवारसँग बस्न भनेको थिएँ। मैले मेरा अभिभावकलाई पनि सहमत गराएको थिएँ। हाम्रो छोराको जन्म भएपछि पनि त्यसका लागि प्रयास गरेको थिएँ। तर उनले मलाई सुनिनन्। उनी आएको भए मेरो सम्पत्तिमा हक हुने थियो,’ कविरले आफ्नो बचाउ गर्दै भने, ‘उनलाई मैले माया गर्दैन थिएँ भने हरेक साता भेट्न जाने थिइनँ। म भगवानसँग डराउँछु तर अब मसँग उनलाई दिन धेरै पैसा पनि छैन।’

अन्नपूर्णले आफ्नो अवस्थाबारे धेरै केही भनिनन्। सुरुमा उनले आफू अपहेलित हुने डरले संयुक्त नेवार परिवारमा बस्न चाहिनन्। पछि उनले सम्झौता गर्न खोजिन तर ‘कविर तयार भएनन्’। कुरा जे सुकै भए पनि वास्तविकता के हो भने कविर परिवारसँग सहज जीवन बिताइरहेका छन् र अन्नपूर्णलाई सहयोगको निकै आवश्यकता छ।

कविरले उनका लागि औषधि र खानाको व्यवस्था गरिदिन्छन र कोठा भाडा तिर्न केही पैसा दिने गर्छन्। अन्नपूर्णसँग अहिले पनि नागरिकता छैन। अन्नपूर्णले नागरिकताका लागि आग्रह गर्दा कविरले सहयोग गरेनन्। अन्नपूर्णका एक आफन्तले उनका छोरा सुरेशको नागरिकता नबनाइदिएमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएपछि मात्र छोराको नागरिकता बनेको थियो।

‘हाम्रो प्रेम विवाह भएको हो। म पनि शिक्षित थिएँ र राम्रै गरिरहेकी थिएँ। सम्भवतः मैले मेरै बलमा आफ्ना लागि केही गर्न सक्थें। जतिबेला मैले उस ९कविर० लाई भेटेकी थिएँ त्यतिबेला ऊ पनि खासै धनी थिएन। उसले पछि व्यापार–व्यवसाय गरेर कमाएको हो,’ अन्नपूर्णले भनिन्। ‘अहिले त ऊ पनि कमजोर छ। कयौं स्वास्थ्य समस्या छन्। उसका छोरा छुट्टै बस्छन्। केही समय पहिले मात्रै मैले उसको अर्की पत्नीलाई देखेकी थिएँ। उनी सुन्दर रहिछन्।’

छोराको मृत्युले अन्नपूर्णलाई विक्षिप्त बनाइदियो र जीवनमा रोगले मात्र घेरे। छोराको मृत्युपछिको दुई दशक अन्नपूर्णका लागि अन्धकारमय बनेको छ। तर अहिले पनि उनको मनमा कविरप्रति प्रेमको दियो बलिरहेकै छ। उनी फेरि अर्को बिहीबारको पर्खाइमा छिन्। आजको नागरिक दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*