टर्कीको पूर्वी भागमा शक्तिशाली भूकम्प, कम्तिमा २० को मृत्यु

नवयुग संवाददाता
११ माघ २०७६, शनिबार १६:१४

एजेन्सी । टर्कीको पूर्वी क्षेत्रमा रहेको एलाजिग क्षेत्रमा शुक्रबार ६.८ म्याग्निच्युटको भूकम्प गएको छ । भूकम्प कम घनत्वयुक्त क्षेत्रमा गएको भए पनि कम्तिमा २० को मृत्यु भएको समाचार छ ।

टर्कीस अधिकारीका अनुसार भूकम्पमा परेर ९०० घाइते छन् भने ३० व्यक्तिको भग्नावशेषमा फसिरहेका छन् । भूकम्प गएको क्षेत्रमा अत्यन्त चिसो मौसम रहेकाले भग्नावशेषमा फसेका मानिसलाई जिउदैं उद्दार गर्ने काम कठिन बन्दै गएको छ ।

उद्दारकर्मी दिनरात नभनी फसेका मानिसको खोजी गरिरहेका छन् । रक्षामन्त्री हुलुसी अकरले भूकम्पको सहयोगको लागि फौज तैनाथ अवस्थामा रहेको बताएका छन् ।

भूकम्पबाट घरबार नष्ट भएपछि सयौं मानिस बेघर भएका छन् । गृहमन्त्री सुलेमान सोयिलुले उद्दारकर्मीले भग्नावशेषमा फसेका कम्तिमा पनि ३० व्यक्तिलाई खोजेर सकेसम्म छिटो उद्दार गर्न खोजेको बताए ।

विपद तथा आकष्मिक व्यवस्थापन निकायका अनुसार भूकम्प गएको एलाजिग टर्कीको राजधानी अंकाराबाट ७५० किमी टाढा छ । स्थानीय समय अनुसार ८ः५५ मा आएको भूकम्पको केन्द्र जमिनभन्दा ६।७ किमी मुनि रहेको बताइएको छ ।

मुल भूकम्पपछि पनि ५.४ रेक्टर स्केलको भूकम्प र ५.१ रेक्टरका दुई परकम्प आएका थिए । टर्की भूकम्पीय रुपमा संवेदनशील क्षेत्रमा रहेकाले भूकम्प गइरहन्छ । यस अघि सन् २०१० मा एलाजिग सहरमै पनि ६ रेक्टर स्केलको भूकम्प आएको थियो जसमा ५१ को मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*