प्रहरीले खोज्दा नभेटिएका तपस्वी बम्जन ‘तीन वर्षका लागि महाध्यानमा’

नवयुग संवाददाता
२७ माघ २०७६, सोमबार १८:०८

सिन्धुली । ‘तपस्वी’ रामबहादुर बम्जन सिन्धुलीमै गत असारदेखि तीन वर्षका लागि महाध्यानमा बसेको बोधी श्रवण धर्म संघले जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरी बम्जन फरार रहेको भनी गलत प्रचार भएको संघले जनाएको छ ।

तपस्वी राम बहादुर बम्जनमाथि १८ वर्षीय आनीलाई बालयौन दर्व्यवहार गरेको आरोपमा किटानी जाहेरी परेपछि जिल्ला अदालत सर्लाहीले पक्राउ गर्न आदेश दिएको थियो । सोहीअनुसार बम्जनलाई पक्राउ गर्न गत माघ २४ गते प्रहरीको टोलीले सिन्धुलीस्थित उनको आश्रममा प्रवेश गरेको थियो । तर बम्जन नभेटिएको भन्दै प्रहरी रित्तो हात फर्केको थियो । तर संघले भने प्रहरीले आश्रममा तोडफोड गरेको आरोप लगाउनुका साथै शान्त तथा शालीन मैत्रीय वातावरणमा धार्मिक स्थलमा छापा मारेको भन्दै संघले दुःख व्यक्त गरेको छ ।

प्रहरीले कानुनको धज्जी उडाई न्युनतम क्षेत्राधिकारको वास्ता नगरी धार्मिक स्थलमा यस प्रकारको ज्यादतीले आफूहरुलाई गम्भीर बनाएको संघको भनाइ छ । यदि आफूहरुले कानुनविपरीत कुनै कार्य गरेको भए सजाय भोग्न तयार रहेको जनाएको छ ।

एउटा तपस्वीमाथि असत्य कुराको भ्रामक प्रचार गरिएको बोधी श्रवण धर्म संघ केन्द्रीय अध्यक्ष नील बहादुर थिङ्गले बताए । ‘गुरुमाथि लागेको आरोप केही सत्य होलान् तर धेरै कुरा गलत छन्,’ उनले भने, ‘गत सालमै फरार भनिएको २ दिनमै सिन्धुली आश्रममा आएर अनुयायी र आनीहरुलगायत सबैको दर्शन दिनुभएको छ, त्यसैले फरार भनिएको कुरा गलत हो ।’

बम्जन भगवानको अवतार रहेको भन्दै अदालत तथा प्रहरीमा समय आएपछि आफैँ गएर जवाफ दिन जाने थिङ्गले बताए ।

आफ्ना गुरु बम्जन काहाँ र कुन अवस्थामा हुनुहुन्छ भन्ने कुरा आफूहरुलाई थाहा नभएको र आफ्नो कर्तव्यभन्दा माथि जान नमिल्ने बम्जनका मुख्य सहयोगी तोप्चेन गुरुमार्गका नामले चिनिने ज्ञानबहादुर बम्जनले बताए । ‘हाम्रो उद्देश्य मानव जातिको उद्धार, सबै प्राणीको कल्याण, हित, संरक्षण र सुख(शान्तिको लागि मात्र भएको कारण गुरुमाथि लागेको आरोप बिल्कुलै असत्य रहेको छ’ उनले भने ।

आफूहरुको नजरमा बम्जन सधैँ सत्य रहेको र उनकै शिक्षा, निर्देशन एवं वचन कल्याणकारी रहेको बताउँदै कहिल्यै असत्य बाटोमा लाग्न नसक्ने बम्जनका मुख्य सहयोगी तोप्चेनले बताए ।

‘लिटल बुद्ध’का नामले चिनिएका तपस्वी रामबहादुर बम्जनमाथि १८ वर्षीया आनीलाई बलात्कार गरेको आरोप लागेको छ । उनीमाथि बालयौन दुर्व्यवहार गरेको आरोपमा किटानी जाहेरी परेपछि जिल्ला अदालत सर्लाहीले पक्राउ आदेश दिएको थियो । सो लगत्तै गत माघ २४ गते पक्राउका लागि बम्जन आश्रम सिन्धुलीमा प्रहरीले छापा मारेका थियो ।

नुवाकोटका अनुयायी सञ्चलाल वाइबाको बाँडेगाउँकै आश्रममा हत्या गरी बेपत्ता बनाएको भन्दै सञ्चलालका छोरा महेन्द्र बाइबाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र मकवानपुरमा किटानी दिएका थिए ।

बेपत्ता भएका भनिएका सुरेश आलेमगरको खोजीका लागि बारामा सन्चलाल वाइबा र फूलमाया रुम्बा पासाङको खोजी गर्न मकवानपुर तथा सिन्धुपाल्चोकमा चिनीमाया तामाङको खोजीका लागि आफन्तले नुवाकोट प्रहरीमा निवेदन दिएका थिए । २०६९ सालदेखि २०७२ सालको बीचमा चारै जना बेपत्ता भएको बताइएको छ ।

सन् २०१० मा बारा जिल्लामै केही स्थानीयहरू माथि हातपात गरेको विवरण आएपछि बम्जनमाथि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सन् २०१२ मा फेरि सोही कारण देखाउँदै करिब तीन महिनासम्म दुई जना विदेशी महिलालाई बन्धक बनाएपछि बम्जन चर्चामा आएका थिए ।

पछिल्लो समय रौतहटकी एक १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाएर बम्जनविरुद्ध थप आरोपहरूसहित प्रहरीमा उजुरीहरू परेपछि केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०को विशेष टोली र प्रहरीले अनुसन्धान गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*