हेटौंडामा मनाइयो २९ औं अख्तियार दिवस

नवयुग संवाददाता
२८ माघ २०७६, मंगलवार १८:५१

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयले मंगलबार आफ्नो २९ औं स्थापना दिवस मनाएको छ ।

आयोगका हेटौंडा प्रमुख शिवकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पोडेलको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले भ्रष्टाचार न्यूनीकरण गर्न प्रदेश सरकारले आयोगलाई सहयोग गर्ने प्रबिद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले कुनै कार्यालयहरुमा आयोगले कारबाहीका लागि अनुसन्धान अघि बढाउँदा सो कार्यालयले गर्ने विकास आयोजना प्रभावित नहुने गरी काम गर्न आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले अख्तियारले अनुसन्धान गर्दा सम्बन्धित कार्यालयका कर्मचारीहरुमा त्रास फैलिएको र हुनुपर्ने काम समेत बाँकी कर्मचारीले नगर्ने स्थिति देखा परेका धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा आयोगका हेटौंडा प्रमुख कार्कीले विश्वका १ सय ८० राष्ट्र मध्ये भ्रष्ट्राचार हुने देशको सूचीमा केही सुधार हुँदै नेपाल १ सय १३ औं देश रहेको जानकारी दिनुभएको थियो । कार्कीका अनुसार अघिल्लो बर्ष १ सय १७ औं नम्बरमा नेपाल रहेको थियो । आयोगको स्थापना २०४७ साल माघ २८ गते भएको थियो ।

स्थापना दिवसको अवसरमा आयोजित कविता प्रतियोगिता, वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट भएकाहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा विभिन्न जिल्लाका सुरक्षा प्रमुख, प्रशासनिक कार्यालयका प्रमुख, मकवानपुरका स्थानीय सरकार प्रमुख लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*