मुख्य सडकको निरन्तर अनुगमन

नवयुग संवाददाता
१ फाल्गुन २०७६, बिहीबार १९:२७

फिदिम । जिल्ला समन्वय समिति पाँचथरले प्रदेश सरकारबाट निर्माण भइरहेका मुख्य सडकहरुको द्रुत एवं गुणस्तरीय निर्माणका लागि निरन्तर अनुगमन गर्ने भएको छ ।

सडक निर्माणमा प्रयोग भएका सामग्रीको गुणस्तरका विषयमा पटक पटक प्रश्न उठेको तथा निर्माणका कारण उत्पन्न वातावरणीय प्रभावलाई ख्याल नगरिएको जनगुनासापछि समितिले अनुगमन थालेको हो ।

निर्माण कार्यमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर तथा मापदण्डका विषयमा जनस्तरबाट व्यापक गुनासो आउने गरेका छन् । यस्तै सडक निर्माण गर्ने क्रममा वातावरणीय प्रभावलाई बेवास्ता गर्दा दीर्घकालीन समस्या निम्तिनेतर्फ स्थानीयवासीले चिन्ता व्यक्त गर्दै आएका छन् । सडक निर्माणका क्रममा सरकारी तथा सार्वजनिक सम्पत्ति र वन जङ्गलको संरक्षण हुन नसकेको गुनासोपछि निर्माणाधीन मुख्य सडकहरुको अनुगमन थालिएको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले बताउनुभयो ।

पाँचथरमा प्रदेश नं। १ सरकारले करिब ४५ किलोमिटर ग्रामीण सडक कालोपत्रको काम अघि बढाएको छ । यो बाहेक जिल्लामा १०० किलोमिटरभन्दा बढी सडक स्तरोन्नतिका लागि पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । “सबै सडकहरुको निर्माण कार्य अघि बढेकाले तालुकदार निकायबाट भएका अनुगमन र नियन्त्रण प्रभावकारी हुन नसकेको जनगुनासाका आधारमा अनुगमन थालिएको हो”, प्रमुख सापकोटाले भन्नुभयो, “स्थलगत रुपमा सडक निर्माणको अवस्था अवलोकन र समस्या समाधानको प्रयास थालिएको छ ।”

प्रमुख सापकोटासहित जिल्ला समन्वय समितिका कर्मचारी, पूर्वाधार विकास कार्यालयका प्रमुख तथा प्राविधिक र प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीसमेतको टोलीले निर्माणाधीन सरखण्डे–यासोक सडक, फिदीम–फालोट सडक र शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडकको हालैमात्र स्थलगत अनुगमन गरेको थियो ।

“यी तीनवटै सडकको निर्माण कार्य अपेक्षाकृत नै छ”, प्रमुख सापकाटोले भन्नुभयो, “तर निर्माण सामग्री, वातावरणीय रुपमा परेको प्रभाव, सरकारी तथा सार्वजनिक सम्पत्ति तथा वन जङ्गलको संरक्षणका विषयमा भने जिज्ञासा र प्रश्नहरु उठेका छन् ।”

प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले एकै पटक धेरैवटा ठूला आयोजना सञ्चालन हुँदा गुणस्तर तथा मापदण्ड कायम गराउन सम्बन्धित निकायलाई पर्नसक्ने समस्या समाधानमा केन्द्रित भई अनुगमन अघि बढाइएको बताउनुभयो । उहाँले तीनैतहका सरकारले सहकार्य गरी विकास निर्माणका कार्यलाई द्रुत, प्रभावकारी एवं गुणस्तरीय बनाउने प्रयत्न गरिएको बताउनुभयो ।

टोलीले स्थलगत अनुगमन गरेकामध्ये सरखण्डे–यासोक सडकको दूरी ११।३१० किलोमिटर रहेको छ । जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिकालाई सदरमुकाम फिदिमसम्म जोड्ने यो सडकको कालोपत्रको कार्य गत असार मसान्तमा शुरु भएको थियो । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने यो सडकको कूल बजेट रु ५३ करोड ३३ लाख ६ हजार रहेको छ । सडक निर्माणको जिम्मा लामा/च्याङमिला जेभीले पाएको छ ।

यस्तै प्रदेश सरकारबाट फिदिम–फालोट सडकको फिदिम–नांगीन खण्डको १०।१ किलोमिटर सडक कालोपत्रको कार्य गत असार मसान्तबाट शुरु भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने यो सडकले फिदिम नगरपालिकाको उत्तरी भू–भाग र जिल्लाको फालेलुङ गाउँपालिकालाई सदरमुकामसँग जोड्दछ । रु ५२ करोड ६७ लाख ३० हजार कूल बजेट रहेको यो सडक निर्माणको जिम्मा कन्काई पीएस जेभीले पाएको छ ।

यस्तै १४ किलोमिटरको शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडक गत असार २६ गते निर्माण शुरु भई दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ । रु ६७ करोड २२ लाख ४५ हजार बजेटको यो सडक निर्माणको जिम्मा कान्छाराम याक्थुङहाङ जेभीले पाएको छ । यस सडकले फिदिम, कुम्मायक र फाल्गुनन्द गाउँपालिकालाई जोड्नेछ ।

प्रदेश सरकारले फिदिमबाट पर्यटकीय क्षेत्र सन्दकपुर जोड्ने सडकको फिदिम–रानीटार सडकखण्ड कालोपत्रको बोलपत्रको कार्य पूरा गरे पनि निर्माण कार्य शुरु भएको छैन । अनुगमन समितिले कालोपत्रसहित अन्य स्तरोन्नतिका आयोजनाहरुको समेत स्थलगत अवलोकन गर्ने पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख ललित चौधरीले बताउनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*