वाग्मती प्रदेशसभामा ‘बर्थडे’ बहस : ‘प्रधानमन्त्रीको परिवार पुँजीवादसँग जोडिएको छ’

नवयुग संवाददाता
१३ फाल्गुन २०७६, मंगलवार १०:४९

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मथलो तेह्रथुममा पुगेर ६९ औं जन्मदिन मनाएको विषयले वाग्मती प्रदेशसभाको बैठकमा प्रवेश पाएको छ । प्रधानमन्त्रीले आइतबार जन्मघरमा पुगेर नेपालको नक्सा अंकित केक काटेको र करिब ६ हजारभन्दा बढी नागरिकमाझ चारवटा हेलिकोप्टर चाटर्ड गरेर तामझामका साथ जन्मदिन मनाएको विषयले सोमबार प्रदेशसभाको बैठकमा चर्चा पाएको हो ।

प्रदेशसभाको बैठकअन्तर्गत शून्य समयमा बोल्ने सांसदहरूले महिनाअघि नेकपाले आफ्ना नेता तथा कार्यकर्ताका लागि जारी गरेको आचारसंहितामा ‘जन्मदिवस, पास्नी तथा व्रतबन्धजस्ता संस्कारलाई घरभित्रै सीमित गर्न’ दिएको निर्देशन भुलेर विवादमा तानिएको यती समूहको खर्चमा हेलिकप्टरमार्फत केक लगेर प्रधानमन्त्रीले जन्मगाउँमा जन्मदिन मनाएको भन्दै सांसदहरूले असन्तुष्टि जनाए ।

विवेकशीलका सांसद रमेश पौडेलले ‘कम्युनिस्ट प्रधानमन्त्रीको पुँजीवादी जन्मदिन’ भन्दै आफैंले जारी गरेको आचारसंहिता उल्लंघन गरेकोमा विरोध गरे । ‘नेकपाले जारी गरेको आचारसंहितामा जन्मदिन परिवारमा मात्रै सीमित गर्न भनिएको छ,’ उनले व्यंग्य गर्दै भने, ‘प्रधानमन्त्रीको परिवार पुँजीवादसँग जोडिएको छ । यती होल्डिङ्स उहाँको परिवार हो ।

त्यसैले यो जन्मउत्सव जायज छ ।’ सांसद बिजुला बर्माले प्रधानमन्त्रीले नेपालको अखण्डतालाई नै चुनौती दिने गरी जन्मदिन मनाएको भन्दै सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताइन् । सांसद जीवन डंगोलले प्रधानमन्त्रीको जन्मदिनले गलत सन्देश प्रवाह भएको टिप्पणी गरिन् । ‘महोत्सवजस्तै गरी प्रधानमन्त्रीको जन्मदिन मनाइयो,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले के सन्देश दिन खोजेको हो ?’ सांसद नरोत्तम वैद्यले सर्वहारा र समाजवादी प्रधानमन्त्रीको जन्मदिनले गलत सन्देश दिएको टिप्पणी गरे ।आजको कान्तिपुर दैनिकमा सुवास विडारीले लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*