विद्यालय र समुदायको अन्तरसम्बन्ध

बालकुमार श्रेष्ठ
१६ फाल्गुन २०७६, शुक्रबार २०:००

विद्यालय समाजमा स्थापित एक व्यवस्थित किसिमको शिक्षा प्रदान गर्ने औपचारिक संस्था हो । विद्यालयको स्थापना व्यक्ति र समाजको भलाईका लागि भएको हुन्छ । विद्यालयले सामाजिक, साँस्कृतिक मूल्य, आदर्श नयाँ पुस्तामा हस्तान्तरण गर्ने र संस्कृतिको संरक्षण र सम्बर्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । विद्यालय समाजको अभिन्न अंगको रुपमा रहेको हुन्छ । विद्यालय विना समाजको प्रगति सम्भव छैन भने समाज विना विद्यालयको अस्तित्व नै रहँदैन । यस अर्थमा हेर्दा विद्यालय पूर्ण समाजको सानो प्रतिनिधि समाज हो ।

कुनै पनि बालक जन्मदाखेरी नै असल वा खराव भन्ने हुँदैन र जन्मँदा नै उसले केही अन्तरनिहित क्षमता लिएर आएको हुन्छ । ती क्षमतालाई विकास गर्ने काममा उसका बुबाआमा, अभिभावक, घरपरिवार, छिमेकी, समुदाय, विद्यालय तथा समाजको वातावरणले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । भिन्न भिन्न समाजमा भिन्न भिन्न किसिमका सामाजिक मूल्य मान्यता, संस्कृति, अदर्शहरु हुन्छन् । सामाजिक बनावट, सामाजिक साँस्कृतिक प्रक्रिया, संस्कृति, अन्तरक्रिया आदिका आधारमा नै विद्यालयको पाठ्यक्रम, शिक्षक, विद्यार्थीको स्थान, मूल्यांकन प्रक्रिया आदि निर्धारित हुन्छन् । त्यसैले विद्यालय सामाजिक स्थल हो । यसको आफ्नो छुट्टै आदर्श वा पहिचान हुन्न ।

समाजको उपअंग भएकोले समाजको जुन आदर्श हुन्छ, त्यस विद्यालयमा पनि सोही आदर्श र पहिचान बनेको हुन्छ । दैनिक रुपमा बालबालिकालाई ज्ञान सिप र व्यवहार सिकाउने, व्यवहारिक परिवर्तन ल्याई उनीहरुलाई देशभक्त र निपुण जनशक्ति उत्पादन गर्ने क्रममा विद्यालयका कक्षाकोठाभित्र र कक्षाकोठा बाहिर समेत पाठ्यक्रमको अभ्यास गराइन्छ । पाठ सहजिकरण र परीक्षामा सफल हुने क्रमको अभ्यासमा मात्र विद्यालयका पहिचान सीमित हुँदैनन् । समाजकै बालबालिकाको शिक्षादीक्षाको लागि विद्यालयका दैनिक गतिविधिहरु सञ्चालन गरिएका हुन्छन् । सामाजिक सभ्य आचरणको लागि विद्यालयमा सिकाइने दैनिक व्यवहारिक पाठहरु समेत समाजको आवश्यकता भएकाले विद्यालयमा सिकाइने सबै व्यवहारिक ज्ञानहरु समेत समाजकै अंगका रुपमा हुन्छन् ।

एउटा विद्यालय समाजको ऐना हो । किनकी समाजका विभिन्न पृष्ठभूमी बोकेका बालबालिकालाई सामाजिक एकता, समानता, सहिष्णुताको पाठ सिकाइ र समाज सापेक्ष जीवन निर्वाह गर्न सक्ने नागरिक तयार गर्न विद्यालयको महत्वपूर्ण भूमिका हुन्छ । समुदायको आवश्यकता अनुसार विद्यालय सञ्चालन हुन्छन् । विद्यालयका उद्देश्य तथा कार्यहरु प्रत्यक्ष रुपमा समुदायका आवश्यकतामा आधारित हुन्छन् ।

वास्तवमा विद्यालय सामुदायिक स्रोत हुन् । विद्यालयले बालबालिकाको चौतर्फींं विकास गर्ने, भावी जीवनको लागि उनीहरुलाई तयार गर्ने र सामाजिक कुशलताको विकास गर्ने काम गरिरहेका हुन्छ्न् । समुदायले आफ्ना बालबालिकाको शिक्षाको लागि विद्यालयको स्थापना गर्दछ । त्यसरी स्थापित विद्यालयले समाजलाई अग्रगति प्रदान गर्न भूमिका निर्वाह गर्दछ । जहाँ विद्यालय छ, त्यहाँबाट सही शिक्षा दिइएको छ भने त्यो समुदाय उन्नत हुन्छ । यसरी हेर्दा समुदाय र विद्यालय अन्सरसम्बन्धित र अन्तरनिर्भर हुन्छन् ।

विद्यालयको अवस्थिति समुदायमै हुने र समुदायबाटै विद्यालयमा विद्यार्थी आउने हुनाले त्यहाँको सामाजिक तथा साँस्कृतिक व्यवहारको प्रभाव एउटा विद्यालयमा पर्दछ । फेरि विद्यालयबाट प्राप्त ज्ञान सीप क्षताहरुले विद्यार्थी तथा समुदायका सदस्यहरुको साँस्कृतिक तथा सामाजिक विकासमा सहयोग पुग्छ । यस अर्थमा विद्यालय र समुदाय परिपूरक शक्तिहरु हुन् । एउटा पक्षले अर्कोको विकासमा सहयोग पु¥याएका हुन्छन् । विद्यालयको विकासका लागि समुदायले स्रोत र साधन उपलब्ध गराउँछ भने विद्यालयका साधन स्रोतलाई समुदायको हितमा पनि लगाउन सकिन्छ । यसरी समुदाय र विद्यालयकाबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ, दोहोरो सम्बन्ध हुन्छ र सधैं परस्परमा अन्तरनिर्भर सम्बन्ध हुन्छ ।

यसरी सामुदायिक विद्यालयमा धनी गरीब सबै परिवारका बालबालिकाहरु समुदायबाट आउने र सामुदायिक विद्यालयमा सरकारी अनुदान दिइने र जनप्रतिनिधि वा स्थानिय तह मार्फत उनीहरुको नियमन र अनुगमन हुने भएकाले सामुदायिक विद्यालय र समुदायबीच अझ प्रगाढ सम्बन्ध हुने गर्दछ । कुनै पनि विद्यालयमा सानो बगैंचाको रुपमा विविधतायुक्त बालबालिका समावेशी कक्षाका रुपमा ज्ञान हासिल गर्न आएका हुन्छन् । विद्यालयले विद्यार्थीहरुलाई सभ्यता, व्यवहारिकता र सिकाइ सम्बन्धी योजना बनाएर कार्यान्वयन गरिरहेका हुन्छन् । त्यसमा निहित मानव स्रोत अर्था शिक्षक विद्यालयका एक त्यस्ता प्रेरक तत्व हुन्, जसले समुदाय र विद्यालयको बीचमा सही सूत्राधारको रुपमा काम गर्न सक्छन् ।

भौतिक विकास र पूर्वाधारयुक्त विद्यालय भएर मात्र हुँदैन, त्यहाँ काम गर्ने शिक्षकको काम समुदायले कसरी लिन सक्छ वा उनीहरु विद्यालयमा समुदायको सदस्यको रुपमा अभिभावक, विद्यार्थी र सामुदायिक नेतृत्वले गर्ने व्यवहारले के कति मात्रामा शिक्षकलाई विद्यालयको कामप्रति बाँधेर वा उत्प्रेरित गरेर राख्न सक्छ ? त्यसको कुनै मनग्य मापदण्ड त हुँदैन, तैपनि कुनै पनि बालबालिका कस्तो परिवेशका समुदायबाट आएका छन् भन्ने प्रश्न नै अहम् प्रश्न हो ।

शिक्षकलाई समुदायका सिकारु व विद्यार्थीहरुले गर्ने व्यवहारबाट आज पनि हेटौंडा नगरपालिकाकै कुनैे विद्यालयका शिक्षकहरु बारम्बार प्रताडित भैरहे भने त्यस विद्यालयको मात्र बद्नामी हुँदैन बरु सिंगो समुदायकै विशेषताहरुमाथि पनि प्रश्न उठ्ने गर्दछ । शिक्षकलाई स्थानिय समुदायको प्रवुद्ध व्यक्ति वा विज्ञ व्यक्ति मान्ने समुदायमा शिक्षककले नयाँ नयाँ गुणस्तर हासिल गर्न सफल भएका छन् । शिक्षकलाई नानाथरी व्यक्तिगत आरोप लगाउने समुदाय, विद्यालय भित्र गुटबन्दी गर्ने शिक्षकहरुको बहुलता भएको विद्यालयहरुले विवाद मिलाउनुमै आफ्नो श्रम र समय बढी खर्च गर्नुपर्ने भएकोले गुणस्तरीय नतिजा निकाल्न सक्दैनन् ।

तर अहिले आएर हेर्दां ठूलो धनराशी तिरेर पढाउनुपर्ने भएकोले संस्थागत विद्यालयमा पढाउने बालबालिकाका अभिभावकहरु विद्यालयप्रति सकारात्मक हुने, विद्यार्थीलाई घरमा गृहकार्य गर्न लगाउने, विद्यालयको कार्यक्रममा उपस्थिति जनाउने गर्लान्, तर सामुदायिक विद्यालयका अभिभावक र विद्यालयको सम्बन्ध उदासिन देखिन्छ । कारण सरकारी विद्यालयको शिक्षा निशुल्क हुने, समुदायका नेतृत्वले सामुदायिक चेत खुलाउन नसक्ने, विद्यालयका शिक्षकलाई कामचोरको संज्ञा दिइरहने, विद्यालयमा काम गर्ने शिक्षकहरु पनि समुदायमा भएका विविधताप्रति जानकार नहुने आदि कारणहरु छन् ।

मकवानपुरको सामुदायिक विद्यालयहरुको समुदायसंगको सम्बन्ध सुमधुर हुनुपर्छ । कुनै पनि विद्यालयका शिक्षकहरुलाई महिलावादी एनजीवो र महिला सहकारीको अधिकारवादी तालिमका भरमा साना नानीहरुलाई शिक्षक माथि आरोपित गर्ने बानीलाई समुहगत रुपमा उक्साउने गरेमा त्यस विद्यालयका शिक्षक शुरुमा निशानामा पर्ने हुन्, आमरुपमा समाजमा त्यो समुदायको पनि बदनामी हुन्छ । के कति कारणहरुले घट्नाहरु देखिन्छन्, तिनको चुरो कुरो पत्ता लगाउन समुदाय र विद्यालयका अगुवाहरु एकै ठाउँमा बसेर यस्ता गलत गुटबन्दीको विरुद्धमा एक भइ जानुपर्ने देखिन्छ । यसमा जनप्रतिनिधिहरुले सहजिकरण गर्नैपर्ने हुन्छ किनकी वर्तमान संविधानले माध्यामिक शिक्षाको जिम्मेवारी स्थानिय तहलाई दिएको छ । यसले कतै पनि विद्यालय सहयोग समिति बनाउँदा कसैले पनि रहर गर्न सक्छ, तर जनप्रतिनिधिले सामुदायिक विद्यालयको जिम्मेवारी लिंदा राम्रो हुन्छ ।

हामीले कुनै पनि समुदायको परम्परा र मूल्यलाई हेरेर नै सामुदायिक विद्यालयमा योजना बनाएका हुन्छौं । समुदायको मूल्यमान्यतामा होस् आएको संकेतको रुपमा यस्ता घट्नाहरुलाई लिन सकिन्छ । विद्यालय पैसा कुम्ल्याउने थलो पनि होइन, धाक रवाफ र राजनीतिक शक्ति प्रदर्शन गर्ने थलो पनि होइन अनि शिक्षकलाई पटक पटक समुुदायका अभिभावककै सिकाइमा विभिन्न आरोप लगाएर विवाद झिकीरहने अखडा त झन् किम्मार्थ हुन सक्दैन । तैपनि विद्यालयमा शिक्षकहरुको गतिविधि नै उस्तै हुन् वा उनीहरुलाई निरीह बलीको बोको बनाइरहेको छ ? यसको न्यायोचित विश्लेषण गरी समाधानको लागि समेत विद्यालय र समुदायको दोहोरो वार्ता, संवाद र सदभाव हुनु जरुरी छ । त्यसतर्फ पनि जनप्रतिनिधिले सोचविचार गरे समाधान अवश्यम्भावी छ । (लेखक: सोसल स्टडिज टिचर्श एशोसियशन नेपालका महासचिव हुन् ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*