नेपालीले नबुझेको लकडाउनः पाँच बजेपछि बढ्यो चहलपहल !

नवयुग संवाददाता
११ चैत्र २०७६, मंगलवार १८:४७

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणले अहिले झन्डै पूरै विश्वलाई त्राहिमाम बनाएको छ । विश्वका अधिकांश देशमा कम्तिमा पनि एक जनामा कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाका कारण विश्वको अर्थतन्त्र नराम्रोसँग खस्किएको छ । र, अहिले विश्वमा सबैभन्दा बढी चलेको शब्द बनेको छ– लकडाउन ।

चीनले नै सबैभन्दा पहिले वुहानमा कोरोना देखिएपछि सहरलाई लकडाउन गरेको थियो । त्यसो त कोरोना भाइरस संक्रमण रोक्नलाई गरिएको यो लकडाउनको त्यति बेला पश्चिमाले निकै विरोध गरेका थिए । उनीहरुले मानवअधिकारको प्रसंग उठाएका थिए । अमेरिकाले त झन् चीनको खिल्ली उडाएको थियो ।

तर, अब विश्वका जुनसुकै देशले पनि कम्तिमा पनि सिमित स्थानहरु पूर्णरुपमा लकडाउन गरेका छन् । बेलायत, इटाली, स्पेन, इरान होस् या अमेरिका नै किन नहोस्, लकडाउन अहिले सबैभन्दा बढी चल्तीको शब्द भएको छ, कोरोना भाइरससँग जोडिएको छ ।

कतिसम्म भने ब्राजिलका मुख्य सहरहरु पनि लकडाउन भएका छन् जहाँ सरकारले यसरी लकडाउन गर्नु आफ्नो सरकारलाई ढाल्न खोज्नु हो भन्ने आरोप समेत लगाएको छ ।

यो भयो, विश्वको प्रसंग ।

नेपालमा पनि सोमबार सरकारले निर्णय गर्यो– नेपाल लकडाउन गर्ने । एक साताका लागि कोही पनि घरबाट ननिस्किनू भन्ने निर्देशन पनि सरकारले दियो ।

सोमबार नै फ्रान्सबाट फर्किएकी एक युवतीमा कोरोना भाइरस भएको पुष्टि भएको थियो । त्यसपछि सरकारले यो कडा कदम लिएको छ । मंगलबार दिउँसो बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले जनताले सरकारको निर्णयलाई साथ दिएको भन्दै धन्यवाद समेत पारित गर्यो ।

तर, दिनभर शान्त र प्रभावकारी रुपमा देखिएको लकडाउन नेपालीले साँझ पर्दै गएपछि उल्लंघन गर्दै गएको देख्न सकिन्छ । त्यसो त आज दिउँसो लकडाउनको अवज्ञा गरेको भन्दै विभिन्न जिल्लामा केही मानिसहरुलाई पक्राउ पनि गरियो ।

अनि साँझ पाँच बजेपछि चाहिँ चोक चोकमा नेपालीहरु भेला हुन थालेको दृश्य देखिन थालेको छ । सायद नेपालीहरुले लकडाउनलाई बुझेनन्, नेपालीहरुले सोचे, लकडाउन पनि कुनै पार्टीले आयोजना गरेको नेपाल बन्द हो जुन पाँच बजेपछि खुल्न थाल्छ ।

तर, मंगलबार विहानबाट सुरु गरिएको लकडाउन एक सातासम्म रहन्छ । लकडाउन भनेको साँझ परेपछि घरबाट निस्किएर चोकमा भेला भएर गफ गर्नु होइन भन्ने नेपालीले बुझ्न जरुरी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*