मकवानपुरमा हिँड्डुल र सवारी आवागमनमा कडाइ

नवयुग संवाददाता
१२ चैत्र २०७६, बुधबार १०:०१


मकवानपुर । विश्वव्यापी समस्या बन्दै आएको कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्दै गएपछि सङ्घीय सरकारले सर्वसाधारणलाई घरबाट निस्कन लगाइएको रोकपछि त्यसको प्रभाव प्रदेश राजधानी हेटौँडालगायत मकवानपुरको बस्ती र बजारहरूमा परेको छ । यातायातका साधन चलेका छैनन् भने बैङ्क तथा वित्तीय संस्था, औद्योगिक प्रतिष्ठान बन्द रहेका छन् ।

मङ्गलबार बिहान ६.०० बजेबाट रोक लगाइए पनि सर्वसाधारणहरू सडकमा हिँड्डुल गरेपछि हेटौँडा, थाहा नगर, मनहरी भीमफेदी, फापरबारीलगायतका बजारमा प्रहरीले सवारीसाधन सञ्चालन र हिँड्डुलमा कडाइ गरेको छ ।

मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह रोठोरले आपत्कालीन अवस्थामा आउजाउ गर्न दिइने व्यवस्था मिलाइएको बताउनुभयो । औषधोपचार, अत्यावश्यक सेवा सुचारु रहेको भन्दै उहाँले भन्नुभयो, घरमा पुग्न लामो दूरीका लागि हिँडेकालाई गन्तव्यमा पुग्छ छुट दिएका छौँ ।

सर्वसाधारणलाई घरमा नै बस्न र ननिस्कन भन्दै बिहान ६.०० बजे अगावै हेटौँडा बजार क्षेत्रमा हेटौँडा उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय मकवानपुरले माइकिङ गरी आग्रह गर्नुका साथै प्रहरी परिचालन गरिएको थियो । अत्यावश्यक सेवा पानी, दूध, इन्धन, खाद्यान्न र फोहोर बोक्ने गाडी सञ्चालन गर्न दिइएको छ ।

प्रहरी उपरीक्षक राठोरले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबाट बच्न र स्वास्थ्यप्रति ख्याल राख्न सर्वसाधारणलाई आग्रह गरिएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*