हेटौंडामा लकडाउन अवज्ञा गर्ने १६ जना पक्राउ, ७८ सवारी साधन नियन्त्रणमा

नवयुग संवाददाता
१२ चैत्र २०७६, बुधबार १६:४८

मकवानपुर। सरकारले कोभिड-१९ को सङ्क्रमण फैलन नदिनका लागि लागू गरेको लकडाउन उल्लङ्घन गर्ने १६ जनासहित ७८ यातायात साधनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ।

सरकारले जारी गरेको लकडाउनलाई अटेर गरी अनावश्यक रूपमा हिँड्ने १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए। उनका अनुसार घर बाहिर सडकमा निस्कनेलाई प्रहरीले तीन मिटरको फरकमा प्रहरी कार्यालयभित्र राखेको छ।

यसैबीच, जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले अनुगमन र निगरानी गर्न मकवानपुरका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन्।

लकडाउनको अवज्ञा भएको र बाहिरबाट आएकाले स्वास्थ्य जाँचबिना नै घरमा जान थालेपछि जनप्रतिनिधिलाई त्यसमा सचेत हुँदै निगरानी राख्न उनले आग्रह गरेका हुन्।

कोभिड–१९ को सचेतनाका लागि स्थानीय तहमा निर्वाचित सम्पूर्ण जनप्रतिनिधि वडाध्यक्ष, सदस्यलगायत टोल विकास संस्थालाई आ–आफ्नो स्थानीय तहका वडाका घर\घरमा पुगेर बाहिरबाट टोलमा अएका तथा विदेशबाट फर्किएका व्यक्तिलाई ‘होम क्वारेन्टाइन’मा बस्न सुझावसहित निगरानी तथा अनुगमन गर्न प्रमुख खुलालले आग्रह गरेका उनका प्रेस संयोजक विवश अधिकारीले बताए। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*